बालेन, कुलमान, हर्क र रवि मिले केपी,प्रचण्डको पतन हुन्छ : रायमाझी
काठमाडौं,८ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले बालेन शाह, कुलमान घिसिङ, हर्क साम्पाङ र रवि लामिछाने मिले ओली,प्रचण्डको पतन हुने ठोकुवा गरेका छन् । वर्तमान अवस्थामा ओली,देउवा र प्रचण्डको अनुहारलाई जनताले भोट नदिने उनको दाबी छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना दलहरुमा केही भएपनि चेतना आएको उनले बताए । उनले भने–‘ओलीसँग पार्टीभित्र लड्न निषेध गरिएकोलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्यो, प्रचण्ड डराएर पार्टीको नाम नै परिवर्तन गरे, माधव नेपालले पार्टीको भविष्य सुनिश्चित गर्न प्रचण्डसँग विलय भए । कांग्रेसमा अलिकति भएपनि चेत आएको छ ।’
विश्लेषक रायमाझीले बालेन, कुलमान र हर्कले आ–आफ्नो पार्टी खोल्नु भन्दा स्वतन्त्र भएर चुनाव लड्नुपर्ने तर्क गरे । सबैले छुट्टाछुट्टै जित्दा २÷४ सांसद हुने र केही गर्न नसक्ने तर एकै ठाउँमा मिलेर निर्वाचनमा जादा प्रभावकारी हुनेमा उनले जोड दिए । नेपालको राजनीति स्थायित्वको लागि दल भन्दा माथि उठेर नेपाली भएर हेर्नुपर्ने उनको भनाइ थियो ।
अभियन्ता समेत रहेका रायमाझीले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुने सम्भावना न्युन रहेको बताए । सरकारले चुनावको काम भन्दा पनि हल्ला बढी गरीरहेको उनको आरोप छ । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकार कयौं युवाको रगत बगाएर संवैधानिक संकटमा निर्माण भएपनि जेनजीको माग र भावना अनुसार चल्न नसकेको उनको तर्क छ ।
जेनजी आन्दोलनको मर्म शुसिला कार्कीलाई प्रधानमन्त्री बनाउनु मात्र नभएको उनले बताए । कार्कीलाई सरकारको प्रमुख बनाउनु देशकै र्दुभाग्य भएको रायमाझीको भनाइ छ । ‘सरकारले जनताको प्रतिनिधित्व गरिरहेको छैन् । जेनजीले उठाएको मागको ठिक विपरितबाटो बाट हिडिरहेको छ ।’–रायमाझीले भने ।


