२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

देशले पनि केपी ओलीको विकल्प सोचेको छैन– शेरधन राई


December 12, 2025
0
Shares

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले अहिले देशले नै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नदेखेको बताएका छन् ।

अध्यक्ष ओलीलाई रोक्न विभिन्न देशी–विदेशी प्रयास भए पनि नेतृत्वको प्रश्नमा जनता र पार्टी दुवै पक्षमा स्पष्ट धारणा बनेको पनि बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले ओलीको नेतृत्वमा एमाले मात्रै होइन, देशले पनि गतिशीलता पाउने विश्वास व्यक्त गरे।

भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको क्षति रोक्न नसकिएको स्वीकार गर्दै उनले ‘सम्पदा जोगाउन ध्यान दिन नसक्नु कमजोरी’ रहेको उल्लेख गरे।

देश अहिले संवैधानिक र राजनीतिक संकटबाट गुज्रिरहेको पनि उनले बताए । ‘यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिमाथि आक्रमण भइरहेको छ’, उनले भने, ‘यस्तो बेला सबै शक्ति गोलबन्द हुनुपर्छ। देशले अहिले ओलीको विकल्प सोचेको छैन ।’

राईले केपी ओलीलाई ११ औं महाधिवेशनको मुख्य नेतृत्वका रूपमा पार्टीले पहिल्यै मान्यता दिइसकेको बताए। भदौ २० देखि २२ गते ललितपुर गोदावरीमा भएको दोस्रो विधान महाधिवेशनले पनि ओलीलाई नेतृत्वका रूपमा स्थापित गरेको उनको भनाइ छ।

‘राजनीति उमेर वा कार्यकालले मात्र चल्दैन, सही नीति र नेतृत्वले चल्छ,’ उनले भने। दैनिक १८ घण्टा काम गर्ने ओलीको क्षमतालाई उदाहरण दिँदै राईले उमेर र कार्यकालको विषय पनि दोस्रो विधान महाधिवेशनले व्यवस्थित गरिसकेको बताए।

उनले जेन(जी आन्दोलनपछिको चुनौतीपूर्ण परिस्थितिमा एमालेको नेतृत्वमा केपी शर्मा ओलीलाई नेतृत्वमा ल्याएर देशलाई सही दिशा दिने पनि बताएका छन् ।

 

प्रतिक्रिया