ओलीको बयानमा नजाने अभिव्यक्ति,सभ्य समाजलाई अपाच्य : रायमाझी
काठमाडौं, २४ मंसिर । गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनको छानबिन गर्न गठन जाँचबुझ आयोगमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बयानमा नजाने अभिव्यक्तिलाई राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहंकारको संज्ञा दिंदै सभ्य समाजलाई अपाच्य हुने टिप्पणी गरेका छन् ।
लेखक समेत रहेका रायमाझीले सामाजिक सञ्जालमार्फत लेखेका छन्–“भाद्र २३ र २४ गते जेनजीको आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई घटना सन्दर्भमा बयानलिन बोलाउँदा जान्न भन्ने सवालै उठ्दैन।”
आयोगसँग कतिपय कुराको रिजर्भसन होला भन्दै उनले तर आयोगमा बयान दिन्न भन्ने घमण्ड र अहंकार चाहिँ सभ्य समाज र कानुनी राज्यका लागि अपाच्य हुने तर्क गरेका छन् । दण्डहिनताको अन्त्य र कानुनी शासनका लागि सरकार अघि बढ्नै पर्ने उनको भनाइ छ ।
आयोगले बयानका लागि बोलाउदा ओली र लेखक नगएपछि उनीहरुलाई पक्राउ नै गरेर बयान लिने तयारी गरेको बुझिएको छ ।
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ’बोगस’ भन्दै आयोगले बोलायो भन्दैमा आफु लुरूलुरू बयान दिन नजाने स्पष्ट पारेका थिए ।


