युवा पुस्ताको साथ सहित नुवाकोट निर्माण गर्न मैदानमा उत्रिए : संजिब गुरुङ्ग
काठमाडौं, २० मंसिर । केही महिना अघि नेपाली कांग्रेस परित्याग गरेका संजिब गुरुङ्गले नुवाकोट क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । युवाको भविष्य र पहिचानसगै समग्र नुवाकोट निर्माणको लागि मैदानमा उत्रिन तयार रहेको गुरुङ्गले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।
दशकौं दशकसम्म परिवर्तन नभएको नुवाकोटको राजनीति एकै घरमा सीमित रहेको आरोप लगाउदै उनले वर्तमान अवस्थासम्म राजनीतिले आम सर्वसाधारणको हितमा कुनै पनि काम गर्न नसकेको उनको आरोप छ ।
युवा व्यवसायी र समाजसेवी समेत रहेका गुरुङ्गले सदैव राज्यबाट विनियोजित रकमलाई आफ्नो मातहतको हो भनी भ्रम सिर्जना गरी पटकपटक सत्तालाई प्रयोग गरी नुवाकोटमा महत परिवारले आफू मात्रै बन्ने काम गरेको उल्लेख गरेका छन् । आफु केन्द्रीत राजनीति गत भदौ २३ र २४ गतेको आन्दोलनबाट डडेका घर र गाडीबाट प्रष्ट भएको समेत उनको तर्क छ ।
“बिना व्यवसाय बिना स्रोत संकलित सम्पत्ति हेर्दा अचम्मितै लाग्छ। ८२ सालसम्म आइपुग्दा सम्म नयाँ पुस्ता विदेश पलायनकै बाटोमा जानुपर्ने बाध्यता सरकारमा लामो समयसम्म बसेका यी भ्रष्ट नालायकहरूबाटै सिर्जीत समस्या हो।”–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
युवा पुस्ताबीच फाटो ल्याएर युवा पुस्ताको अस्तित्व समाप्त गर्ने खेलमा भ्रष्ट नेताहरु अझै पनि तल्लिन रहेको उनको भनाइ । “आज विभिन्न तामझाम गरेर सामाजिक सञ्जालहरू रङ्ग्याउँदै आफू अनुकूल पत्रकारहरुलाई आश्वासन दिँदै चुनावको माहोल सिर्जना गर्दै हिँडेको हामीले देखेका छौं ।”–उनले अगाडी लेखेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ सहित नुवाकोटको विकासको लागि सदैव समर्पित रहने वाचा गर्दै उनले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणाले शिक्षित,नयाँ पुस्तामा खुशियाली छाएको छ । र गुरुङ्गलाई युवाहरुले मन वचन र कर्मले साथ दिने पनि बताएका छन् । “युवापुस्ताको समर्थन मलाई छ, नुवाकोटको २ परिवारमा सिमित कांग्रेसको राजनीतिबाट असन्तुष्टहरु पनि मसँगै छन्, मेरो जित निश्चित छ ।”–गुरुङ्गले भने ।
निवर्तमान तरुणदल केन्द्रीय सदस्य गुरुङ्गले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पार्टीको काममा असन्तुष्टि जनाउँदै क्रियासिल सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेका थिए ।


