माछापुच्छ्रे बैंकलाई एनभिएले दियो कडा आन्दोलनको चेतावनी
काठमाडौं,१७ मंसिर । सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले माछापुच्छ्रे बैंकलाई कडा आन्दोलनको चेतावनी दिएको छ ।
एनभिएले तोकेको फि को बारेमा मुल्यांकनकर्ताहरुलाई बैंकले धम्कीपुर्ण तथा दबाबमुलक इमेल पठाएपछि एक्सनमा उत्रिन परेको अध्यक्ष इ.संजय कुमार महतोले जानकारी दिए ।
‘मूल्याङ्कन शुल्क संशोधनसम्बन्धी प्रक्रिया र छलफल नियमित रूपमा अघि बढिरहेको अवस्थामा बैंकबाट यस्तो प्रकारको इमेल पठाइनु अत्यन्तै खेदजनक छ’ –अध्यक्ष महतोले भने ।
सो बैंकले आफ्ना सदस्यहरुलाई धम्कीपुर्ण मेल पठाएपछि एनभिएलाई गम्भिर असहजता भइरहेको समेत उनले बताए । महतो भने–‘बैंकको भाषा, व्यवहार र प्रस्तुतिका ढंगले मूल्याङ्कनकर्ताको स्वतन्त्रता, पेशागत मर्यादा तथा विधिसम्पन्न प्रक्रियामा नकारात्मक प्रभाव पार्ने देखिएकोले यस प्रकारको अनावश्यक दवाव संस्थाले सहन गाह्रो भएको छ।’
एनभिएका महासचिव इ.अशोक सिलवालले पनि विज्ञप्तीमार्फत बैंकलाई ध्यानाकर्षण गराएका छन् ।

एनभिएले २०८१ साउनदेखि लागु गरेको सम्पत्ति मुल्यांकन फि बैंकसँगको आन्तरिक सहमतिमा मुल्यांकनकर्ताहरुले लिदै आइरहेका थिए । बैंकसँग भएका सहमतिलाई लत्याएर बैंकले बुधबार (आज) सो फि लिएमा भ्यालुएटरलाई कारबाही गर्छौ भन्ने धम्कीपुर्ण मेल पठाएको छ । यसरी नै पेल्दै जाने हो भने एनभिएले बैंकविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने पनि सचिव इ.रविन्द्र अधिकारीले चेतावनी दिए ।

यस अघि पनि भ्यालुएटरहरुलाई विभिन्न समस्या देखाएर हैरानी दिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध देशभरका मुल्यांकनकर्ता इन्जिनियरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको नेतृत्व एनभिएले गरेको थियो । एनभिएको सबै माग पुरा गर्ने सहमति पछि आन्दोलन स्थगित भएको थियो । त्यो आन्दोलनभन्दा माछापुच्छ्रे बैंकविरुद्ध ठुलो आन्दोलनको तयारी गरिरहेको एनभिएले जनाएको छ ।


