१२ मंसिर २०८२, शुक्रबार | November 28, 2025

एनएसटीको महिला उपाध्यक्षमा खराल र गिरीबीच कडा प्रतिस्पर्धा हुदैं (भिडियोसहित)


November 28, 2025
0
Shares

 हरि सुबेदी । अमेरिकास्थित नेपाली समुदायको सबैभन्दा पुरानो र ठूलो संस्था नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ नेतृत्वको लागि निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । समाजको सन् २०२६–२०२७ कार्यकालको नयाँ कार्यकारी समितिका लागि गत सोमबार (नोभेम्बर २५) उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै चुनावी माहौल रोचक मोडमा पुगेको हो ।

अध्यक्ष पदका लागि चार जना आकांक्षीहरूको नाम चर्चामा आएपनि वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र वर्तमान महासचिव विजय भुसालले मात्रै उम्मदेवारी दिएका हुन् । भण्डारी र भुसालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । औपचारिक रुपमा उम्मदेवारी घोषणा गरेका उपाध्यक्ष बलराम पौडेल र प्रवक्ता किरण पौडेल भने प्रतिस्पर्धाबाट पछि हटेका छन् । पौडेल द्धयले समाजलाई एकरुपता ल्याउन उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

सार्वजनिक सूची अनुसार वरिष्ठ उपाध्यक्षमा जीवलाल भुसाल र डा. चण्डी भण्डारी, उपाध्यक्ष पदका लागि दिलिप राई र गुञ्जन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, महिला उपाध्यक्षमा राधिका खराल र शान्ता गिरी प्रतिस्पर्धामा उत्रिएका छन् भने महासचिव पदका लागि युवा संयोजक प्रविश श्रेष्ठ र वर्तमान कोषाध्यक्ष रामकृष्ण यादवले उम्मेदवारी दिएका छन्। त्यस्तै, सचिव पदमा शुशिल बर्तौला र नारायण बहादुर केसी प्रतिस्पर्धा गर्नेछन् भने कोषाध्यक्षमा भोला मैनाली (बीपी) र प्रेम थापा (आदित्य) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
महिला उपाध्यक्षमा राधिका खराल र शान्ता गिरीको भिडन्त हुने भएको छ ।

गुल्मीमा जन्मिएर बाग्लुङका यदुमणी खरेलसँग विवाह गरेकी राधिका खराल नेपालबाट अमेरिका पुगेर पनि सामाजिक सेवा सक्रिय छिन् । उनले आगामी नयाँ कार्यकालका लागि अध्यक्षका उम्मेदवार जनक भण्डारीको टिमबाट एनएसटीको महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । उनले एनएसटीको उपाध्यक्षको उम्मेदवारीलाई पद भन्दा पनि नेपाली समाजमा काम गर्ने अवसरको रुपमा लिएको बताउछिन् ।

नेपालमै पनि उनले महिला जागरणमा सदस्यहुँदै सचिवसम्मको जिम्मेवारी वहन गरेकी थिइन् । श्री त्रिभुवन नमुना बिद्यालयमा शिक्षक अभिभावक संघमा सदस्य समेत भएर स्कुलमा सेवा गरेकी खराल २०१७ मा अमेरिका पुगेकी हुन् । लुम्बिनी समाज सेवा टेक्सास ०२२÷०२३ को कार्यकारी सदस्य,०२४÷०२५ मा महिला सङ्योजक,नेपाली सोसाइटी टेक्सासमा अभिभावक संघको सदस्य र ०२४/०२५ मा नेपाली सोसाइटी टेक्सासको कार्यकारी सदस्यको रुपमा भारी मतले राधिका बिजयी भएकी थिइन् ।

उनी एनएसटीमा सदस्यमा भारी मतले निर्वाचित भएसँगै विगत २ वर्षदेखि स्वास्थ्य क्षेत्रको जिम्मेवारीमा रहेर काम गरीररहेकी छिन् । उनले मानसिक स्वास्थ्यलगायत सम्बन्धि क्याम्प चलाएको जानकारी दिंदै अझै पनि बाकी रहेका स्वास्थ्य क्षेत्रका कामहरु सम्पन्न गर्न आफुलाई मत दिन सबै सदस्यहरुलाई आग्रह गरेकी छिन् । महिलाहरुलाई शसक्तिकरण गरेर समाजलाई एकताबद्ध गर्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको उनको भनाई थियो ।

यस अघिको एनएसटीको निर्वाचनमा खसेको कुल मत १४ सय ९७ मा राधिकाले सर्वाधिक १ हजार ८६ मत ल्याएर सदस्यमा निर्वाचित भएकी थिइन् ।  हसिली स्वभावकी राधिका सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् । यदुमणी र राधिकाका २ सन्तान छन् । परिवारबाट राधिकालाई समाजसेवामा पुर्ण सहयोग रहेको छ ।

त्यसैगरी बिजय भुसालको टिमबाट महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी शान्ता गिरी पनि सामाजिक क्षेत्रमा सक्रिय छिन् । उनी बाग्लुङको बडिगार्ड गाउँपालिका वडा नम्बर १ मा जन्मिएर २०१७ मा अमेरिका पुगेकी हुन् । हेल्थ असिस्टेन्ट विषय अध्ययन गरेकी गिरीले नेपालमा पनि सामाजिक क्षेत्रमा रहेर धेरै काम गरेकी छिन् ।
क्यान्सर सोसाइटीको सदस्य, बाग्लुङ समाजको उपाध्यक्ष (२००४–२०१७)सम्म, नेपाली सोसाइटी टेक्सासको ०२२-०२३ मा कार्यकारी सदस्य र ०२४-०२५ मा महिला संयोजक भएर काम गरेको उनीसँग अनुभव छ । समाज सेवामा सदैब अग्रपङ्तिमा देखिने शान्ताको पमलाल गिरीसँग विवाह भएको हो । उनीहरुको २ सन्तान छन् । शान्तालाई पनि परिवारको पुर्णरुपमा सहयोग छ ।

निर्वाचन समितिले कुल ३३ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। स्थापनाको २७ वर्ष पूरा गरेको नेपाली समाज टेक्ससमा यसपटक इतिहासकै सर्वाधिक सदस्य संख्या पुगेको छ । ६ हजार १ सय ९१ जना साधारण सदस्य रहेको यो संस्थाको चुनाव डिसेम्बर १३ तारिख शनिबार का दिन हुँदैछ ।
एनएसटीको नयाँ नेतृत्वको लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । भावि अध्यक्ष को बन्ला ? यो विषय अमेरिकामा भएका सम्पूर्णण नेपालीहरुको चासोको विषय बनेको छ । एनएसटी त्यस्तो संस्था हो—जुन संस्थाले अमेरिकामा भएका नेपाली नागरिकको अभिवाकको भूमिका निर्वाह गर्दछ ।

सुबेदी नेपालीपेन डटकमका प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया