नेपाली कम्युनिष्ट पार्टीको ९ बुंदे प्रस्तावमा के छ ?
काठमाडौं, १९ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुंदे प्रस्ताव पारित गरेको छ । पार्टीको घोषणापत्र पारित गर्दै सम्मेलनले पार्टीको नाम, चिुनाव चिन्ह्रलगायतका विभिन्न ९ बुंदे प्रस्ताव पारित गरेको हो ।
पार्टी एकतापछि पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहने जनाइएको छ ।
यी हुन् ९ बुँदे प्रस्ताव
१। एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ।
२। चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।
३। एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ।
४। एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ।
५। केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ।
६। विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन्।
७। पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ।
८। नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ।
९। नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ।


