‘आन्दोलन केन्द्रीत कारबाही गर्ने हो भने सबै दललाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौं,२१ असोज । समाजसेवी संजिब गुरुङ्गले व्यक्तिगत स्वार्थको लागि नीति परिवर्तन गर्न नहुने तर्क गरेका छन् । यी कुरालाई सत्तामा हुने वा सत्ता बाहिर बस्नेले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै गुरुङ्गले देशलाई शान्तिभूमि बनाइराख्न राज्यपक्ष र आम सर्वसाधारण एक हुनुपर्ने बताए । सरकार र जनता दुवै नीतिको पालक भई देशमा स्थापित रहनु आजको आवश्यकता भएको उनको तर्क छ ।
गुरुङ्गले विज्ञप्तीमा लेखेका छन्, ‘आन्दोलन केन्द्रित बहानालाई आधार बनाई सत्तापक्ष होस् या प्रतिपक्षमा रहनेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने नै हो भने नेपाली कांग्रेस, एमाले, माओवादी र विभिन्न मधेशवादी दल, जातीय संगठन, धार्मिक संगठनमा आबद्ध सम्पूर्णलाई कारबाहीको दायरामा लिएर आउनुपर्छ ।’
‘देशमा अवस्था र व्यवस्था परिवर्तनलाई लिएर होस् या हक र अधिकारको बहानामा होस् पटकपटक आन्दोलन भएको र आन्दोलनबाट नागरिक स्तरमा क्षति,सामाजिक स्तरमा क्षति,भौतिक क्षतिहरू राज्यले बेहोरेको छ। जब शान्तिपूर्ण वातावरणपछि सरकार परिवर्तन भएर होस् या सर्वदलीय शासन पद्धति रहोस् त्यहाँ एजेन्डालाई सम्बोधन भएको देखिन्छ !’–उनले लेखेका छन्,‘कति पाएको देखिन्छ कति नपाएको देखिन्छ यसो हुँदै गर्दा सत्तापक्ष र प्रतिपक्षलाई कारबाही आजसम्म भएको छैन ! गलत नजिर कहिले स्थापित हुने छैन। व्यक्तिगत स्वार्थको लागि कहिले नीति परिवर्तन हुने छैन। त्यसैले आज सत्तामा हुने या सत्ता बाहिर बस्नेले ध्यान दिनुपर्ने आवश्यकता छ। देशलाई शान्तिभूमि बनाइराख्न राज्यपक्ष होस् या आम सर्वसाधारण एक हुनुपर्ने आवश्यकता छ। नीतिको पालक भई देशमा स्थापित रहनु आजको आवश्यकता !’
प्रदर्शनमा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखी जिल्ला प्रहरीले जाहेरी लिएर त्यसलाई गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाउने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।