कांग्रेसमा विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान देशभर एकसाथ सुरु

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केही महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । युवा नेता गुरुराज घिमिरे लगायतले पार्टीभित्रै विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका हुन् ।
घिमिरेले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताए । आजदेखि हस्ताक्षर अभियान प्रारम्भ गरिएको बताए । ‘हस्ताक्षर अभियान अब सुरु भयो । हिजो हामीले सार्वजनिक गरिसक्यौं । हस्ताक्षर अभियान एकैसाथ ७७ वटै जिल्लामा सुरु हुन्छ,’– उनले भने ।
अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बुझिएको छ ।