कांग्रेस पूनर्गठनका लागि बिशेष महाधिवेशनको विकल्प छैन् : गुरुराज घिमिरे

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कांग्रेसको पूनर्जीवनका लागि पूनर्गठन र परिवर्तन गर्न बिशेष महाधिवेशन बाहेक अन्य कुनैं बिकल्प नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेपछि घिमिरेले यस्तो टिप्पणी गरेका हुन् । बैठकले गरेको सो निर्णयबाट सिङ्गो पार्टीका कार्यकर्ता निराश भएको समेत उनको भनाइ छ ।
सभापति शेरबहादुर देउवा उपचाररत रहेको हुँदा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले वर्तमान संविधान अन्तर्गत रहेर नै समस्याहरूको समाधान गर्न सकिने निर्णय गरेको हो ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा कसैले समर्थन नजनाएपछि उनीहरु अल्पमतमा परेका थिए ।
सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्,“साथीहरू निराश भएका छन्।यो अविवेकपुर्ण, असामयिक र अदुरदर्शी निर्णय हो।अब कांग्रेस यथास्थितिमा बस्न सक्तैन। नेपाली कांग्रेसको पूनर्जीवनका लागि पूनर्गठन र परिवर्तनका लागि बिशेष महाधिवेशन बाहेक कुनैं बिकल्प छैन।”
पार्टी पुर्नगठन र विशेष महाधिवेशनका लागि अभियान नै शुरु हुने पनि उनले जानकारी दिएका छन् । वर्तमान नेतृत्वले पार्टीसहित लोकतन्त्र र देशलाई धराशायी बनाएको युवा नेता घिमिरेले आरोप लगाएका छन्् ।
बीपीले तरुणहरुको भावना बुझेर राजनीति गरेको स्मरण गराउँदै उनले अब नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्ने गरी ‘नुतन कांग्रेस’ निर्माण गर्न सबैलाई अपिल गरेका छन् ।