जेन–जीको आन्दोलनमा सहभागी हुन प्रकाश सपुतको भाईहरुलाई आग्रह

काठमाडौं,२२ भदौ । जेन–जीले भोलि सोमबार सामाजिक संजाल बन्द र भ्रष्टाचारको विरोधमा देशब्यापी प्रदर्शन गर्दैछन् । कलाकारहरूले सामाजिक सञ्जालमार्फत सो आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् ।
गायक तथा अभिनेता प्रकाश सपुतले जेनेरेसन जेड पुस्ताका दुईजना भाई सुनिल र सचिनलाई आन्दोलनमा जान आग्रह गरेका छन् ।
ती दुई भाईलाई आन्दोलनमा जानको लागि आफूहरूले कर काटेर आएको २५ र २५ हजार युट्युबको कमाइलाई उनीहरूको खातामा हालेको सपुतले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रिय भाइहरु,
सुनिल (२५ वर्ष ) सचिन (२६ वर्ष ) ! भोली तिमीहरु पनि जानु ! तिमीहरु केही बोल्नै पर्दैन । तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो । भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु । किनकि हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गर्यौ । अझ भनौं, युद्ध नै भोग्यौं । त्यो आन्दोलनको नेतृत्व गरेकालाई खत्रै मान्यौ । व्यवस्था फेरेर तिनैलाई विश्वास गरेर पठायौं । गर्लान नि भन्ने आशा गर्यौ । तर.. छोड़ यार अब यो कथा धेरै रिपिट भयो । उनीहरुले आफ्नो योगदान भन्दा बढि फाईदा लिइ सके । जे होस भोली तिमीहरू जानु । मैले तिमीहरुको खातामा २५/२५ हजार रुपैया पठाईदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन ! अँ, त्यो पैसा ले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई- ‘हाईड्रेड रहनु, संयमित रहनु, एकै पटकमा नथाक्नु ।’ किनकि आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगे पछि जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरुले एक्कै पटकमा मान्ने छैनन्, बुझ्ने छैनन् र गल्ने छैनन् । यिनीहरुलाई बुझाउन र गलाउन तिमीहरु पटक-पटक सँगै उभिनुपर्नेछ । यसपाली उनीहरुलाई जेन-जी को सांकेतिक प्रर्दशनले गहिरो महुसुस होस् कि समय धेरै अगाडि गइसकेछ । आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौ । भोली तिमीहरु जानु र सुरक्षित फर्किनु साँझ घरमा परिवार कुरिरहको हुनेछ !’