२४ आश्विन २०८२, शुक्रबार | October 10, 2025

सन्तोष राजावादी पक्राउ : नागरिकलाई आतंकित पार्ने सरकारको नियत


August 28, 2025
14.6k
Shares

शान्तिपूर्ण विरोधसभा गर्न पाउने नागरिकको हक कुण्ठित

काठमाडौं,१२ भदौ । शान्तिपूर्ण ढंगले आफ्नो विचार राखिरहेका नागरिकमाथि दमन गर्नु प्रजातान्त्रिक मूल्य–मान्यता र संवैधानिक आदर्शको खुला उल्लङ्घन भएको राजनीतिक विश्लेषक प्रकाश रायमाझीले टिप्पणी गरेका छन् । शान्तिपुर्ण आन्दोलन दबाएर रोक्न खोज्ने प्रयास सरकारको अन्ततः असफल हुने उनको दाबी छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै भदौ १० गते मंगलबार राजसंस्था समर्थक अभियन्ता सन्तोष राजावादी शान्तिपूर्ण विरोधमा संलग्न भइरहेका बेला पक्राउ परेको स्मरण गराउँदै रायमाझीले लेखेका छन्, “उनलाई लक्षित गरेर मुद्दा दर्ता गर्नु र म्याद थप गर्दै झूटो अभियोग लगाउनु अलोकतान्त्रिक मात्र होइन, सरकारको नागरिकलाई आतंकित पार्ने नियत पनि स्पष्ट देखाउँछ ।”

संविधानले दिएको जनतालाई शान्तिपुर्ण आन्दोलन/विरोधसभा गर्ने हक सरकारले कुण्ठित गर्न खोजेको पनि उनले आरोप लगाएका छन् । “मौलिक हकको संवैधानिक व्यवस्था अनुसार शान्तिपूर्ण विरोधसभा गर्न पाउने अधिकार नेपालको संविधानको धारा १७(२)(क) र धारा १७(२)(ख) अन्तर्गत सुनिश्चित गरेको छ। तर, ओली नेतृत्वको काठपुतली सरकारले निरन्तर रुपमा नागरिकको यो हक कुण्ठित गर्दै आएको छ।”–विज्ञप्तीमा उल्लेख गरेका छन् ।

लेखक समेत रहेका विश्लेषक रायमाझीले सन्तोष राजावादीलाई पक्राउ गर्नु दमनकारी कार्य भएको भन्दै तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।
“सन्तोष कुनै व्यक्तिगत पात्र मात्र होइनन् उनीमार्फत आज हजारौँ युवाहरूको आवाज सडकमा प्रतिध्वनित भइरहेको छ। यो आन्दोलन दबाएर रोक्न खोज्ने प्रयास अन्ततः असफल हुनेछ।”–उनले लेखेका छन् ।

“अब सम्पूर्ण देशभक्त नेपालीले आ–आफ्नो क्षेत्र, क्षमता अनुसार यो बिचौलिया र माफिया प्रवृत्तिको विरोधमा उभिनैपर्छ ।”, राज्यको दमनकारी प्रवृतिबिरुद्ध सबै नागरिकहरुलाई एक जुट हुन आह्वान गर्दै रायमाझीले लखेका छन्, “प्रेस एवं नागरिक स्वतन्त्रतामाथि गरिएको हस्तक्षेप तुरुन्त बन्द हुनुपर्छ, र झूटो मुद्दा लगाएर नागरिकलाई त्रसित पार्ने अभ्यास अब बन्द हुनुपर्छ ।”

स्वतन्त्र र स्वाभिमानी नेपाली जनताको आत्मामा चोट पु¥याउने कुनै पनि कदम अब सह्य नहुने पनि सरकारलाई उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया