११ भाद्र २०८२, बुधबार | August 27, 2025

जाग नेपाली सडक आन्दोलनमा, मन्त्री देवेन्द्र दाहालको राजीनामा माग


August 27, 2025
581
Shares

काठमाडौं, ११ भाद्र । नेपालको देवनागरी लिपि नामेट पार्ने गरी इम्बोस्ड नम्बर प्लेट लाद्ने सरकारको निर्णविरुद्ध जाग नेपालीले सडक आन्दोलन सुरु गरेको छ । बुधबार जाग नेपालीले नयाँ बानेश्वरमा धर्ना तथा विरोधको कार्यक्रम गरेको छ ।

कार्यक्रममा जाग नेपालीले ७ बुँदे माग सार्वजनिक गरेको छ । मागहरुमा रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट खारेज गर्नुपर्ने, देनागरी लिपिमा सवारी नम्बर प्लेट राख्ने निर्णय लिनुपर्ने, भौतिकमन्त्री देवेन्द्र दाहालले राजीनामालगायत छन् ।

जाग नेपालीका संयोजक डा. दीपेश केसीले इम्बोस्ड नम्बर प्लेट खारेज गरी देवनागरी लिपिको नम्बर प्लेट सुनिश्चित नगरेसम्म आन्दोलन नरोकिने बताए । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल कमिशनको खेलमा लागेर इम्बोस्ड नम्बर प्लेट लाद्न उत्रिएको भन्दै नैतिकताका आधारमा राजीनामाको माग गरे ।

सत्य र न्याय खोजी अभियानका संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटमा व्यापक भ्रष्टाचार र दोहन भएकोले जिम्मेवार व्यक्तिहरुमाथि कडा कारबाही हुनुपर्ने बताए । उनले देश र जनतामाथिको दोहन चुपचाप सहन नहुने भन्दै आन्दोलनमा उत्रन आव्हान गरे ।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले सरकारले नै भ्रम सृजना गरेर इम्बोस्ड नम्बर प्लेट जर्बजस्ती राख्न वाध्य पारिरहेको बताए । उनले नेपाली भाषाको देवनागरी लिपि मेट्ने देखि सुरक्षाका दृष्टिले संवेदनशील इम्बोस्ड नम्बर प्लेट खारेज हुनैपर्ने बताए ।

इम्बोस्ड नम्बर प्लेटको खारेजीको माग गर्दै जाग नेपालीले आन्दोलन ८ भाद्रबाट सुरु गरेको छ । जाग नेपालीले धर्ना, जुलुसलगायतका शान्तिपूर्ण कार्यक्रम जारी राख्ने संयोजक केसीले जानकारी दिए ।

प्रतिक्रिया