नेपालको असफल परराष्ट्र नीति : भाषा, संस्कृति र राष्ट्रिय पहिचानमाथि प्रहार इम्बोस्ड नम्बर

प्रकाश रायमाझी । भाषा संस्कृति भनेको केवल सञ्चारको माध्यम मात्र होइन, राष्ट्रको आत्मा हो जीवन पद्धति हो। पुर्खाहरूले शताब्दीयौंदेखि संस्कृतको मूलधारबाट विकसित नेपाली भाषा र संस्कृति जोगाउँदै आएका छन् । नेपाली अक्षर, अंक, कला, संस्कृति, गीत, रीतिरिवाज, यी सबैमा हाम्रो इतिहास, गौरव र सार्वभौमिकताको सन्देश निहित छ । त्यसैले भाषा र संस्कृतिमाथिको आक्रमणलाई सामान्य निर्णय ठान्नु राष्ट्रकै अस्तित्वलाई खतरामा पार्नु हो ।
यतिबेला सरकारले गाडीको नम्बर प्लेटमा ‘इम्बोस्ड’ विदेशी भाषा र अंक प्रयोग गर्नुपर्ने अनिवार्य प्रावधान अघि सारेको छ त्यस्तै राष्ट्रिय परिचयपत्र आदि । यसले नेपाली अक्षर र अंकलाई उपेक्षा गर्ने मात्र होइन, हाम्रो मौलिकता मेट्ने खतरनाक बाटो खोलिदिएको छ । यो कदमले नेपालीको राष्ट्रियता र स्वाभिमानमाथि सीधा प्रहार गरेको छ भन्ने जनभावना प्रष्टै देखिएको छ । आधुनिकताको नाममा राष्ट्रियता बलिदान दिने यो निर्णयले आन्तरिक रूपमा विदेशी स्वार्थपूर्तिका लागि काम गर्ने समूहलाई सहयोग पु¥याएको छ ।
यसै सन्दर्भमा केही वर्षअघि देखिएको अर्को विवादास्पद घटना पनि स्मरणीय छ, नेपाली शब्दकोषबाट ‘ॐ’ शब्द हटाउने प्रयास । ‘ॐ’ केवल धार्मिक प्रतीक मात्र होइन, यो हिन्दु र बौद्ध दर्शनमा जीवन, अस्तित्व र ब्रह्माण्डको आधार मानिएको शाश्वत ध्वनि हो । त्यसलाई नेपाली शब्दकोषबाट हटाउन गरिएको प्रयासले जनमानसमा गहिरो आक्रोश पैदा गर्यो । जनदबाबकै कारण त्यो निर्णय फिर्ता लिनुपर्यो , तर यसले देखायो, भाषा र संस्कृति मेटाउन कतिपय शक्तिहरू लगातार सक्रिय छन् ।
यी घटनाहरू एक–अर्कासँग अलग छैनन् । विदेशी चासो र आन्तरिक एजेन्टहरूको दबाबमा, कहिले भाषा, कहिले संस्कृति, कहिले भूभाग, नेपाललाई कमजोर पार्ने प्रयासहरू निरन्तर भइरहेका छन् । लिम्पियाधुरा र कालापानीमा परकीय अतिक्रमणजस्तै, भाषा र संस्कृतिमाथिको अतिक्रमण पनि राष्ट्रलाई कमजोर पार्ने योजनाको हिस्सा हो । भूगोल मात्र नभई भाषा, संस्कृति, धर्म र पहिचान पनि राष्ट्रको मेरुदण्ड हो । मेरुदण्डमा चोट पुर्याइएपछि राष्ट्र स्वतन्त्र रहन सक्दैन ।
उत्तरमा कैलाश–मानोसरोवरदेखि दक्षिणमा गङ्गा, पूर्वमा ब्रह्मपुत्र नदीदेखि पश्चिममा बद्रीनाथसम्म नेपाल राज्य थियो । सुगौली सन्धिपछि पनि नेपालका सीमाहरू बिस्तारै मिचिदै गएका छन् । दक्षिणतर्फ ५२ वटा जंगे पिलरहरू हराएका छन् भने उत्तरतर्फ १७ जिल्लामा अतिक्रमण भएको छ । खोक्रो राष्ट्रवाद र ओठे राष्ट्रभक्तिले यो देश बनेको होइन । पूर्वजको रगत–पसिनामा देशको जग बसेको थियो, स्मरण होस्।
यस्ता प्रहारहरू बाह्य शक्तिबाट मात्र नभई आन्तरिक दलाल र भ्रष्ट नेताहरूको कारणले अझ बढ्दै गएको छ । नेपालको भूमि मिचिएको होइन, बरु दलाल र स्वार्थी नेताहरूले सत्ताको मोहमा बेच्दै आएका हुन् । महाकाली सन्धि, विभिन्न असमान सम्झौता, एमसीसीजस्ता विवादास्पद कार्यक्रम, यी सबै राष्ट्रघाती सन्धि सम्झौताहरूको शृंखला हुन्, जसले देशलाई कमजोर बनाउँदै लगेका छन् । नदीनाला बेचेर नपुगेर देशको सम्पूर्ण सम्पदा लिलामीमा राख्ने तयारी भइरहेको छ भन्ने जनआशंका चर्किँदै गएको छ ।
नेपालको परराष्ट्र नीति पनि विगत केही दशकमा असफल भएको छ । विदेशीलाई खुसी बनाउन तल्लीन नेता र कर्मचारीबाट राष्ट्रिय कूटनीति सफल हुन सक्दैन। ।धेरैजसो कूटनीतिज्ञहरू योग्यताको आधारमा होइन, राजनीतिक दलको खल्तीबाट चयन गरिएका छन् । अनुभवहीन र प्रष्ट ज्ञानविहीन कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई आत्मविश्वासपूर्वक प्रस्तुत गर्न सक्दैनन्, फलस्वरूप नेपालले अपेक्षित नतिजा निकाल्न सक्दैन । विदेशी दबाब र आन्तरिक स्वार्थको मिश्रणमा राष्ट्र झन् झन् कमजोर हुँदै गएको छ ।
देश किन उँधोगतिमा जाँदै छ भन्ने प्रश्नको उत्तर राजनीतिलाई पेशा बनाएका कथित नेताहरूको जीवनशैलीमा आएको परिवर्तनलाई हेर्ने हो भने सजिलै भेटिन्छ । उनीहरूको ऐश्वर्यमय जीवनशैली, विलासी घर, गाडी, वैदेशिक सम्पर्क र दौडधूपको स्रोत के हो ? उनीहरुलाई यो ऐश्वर्य राष्ट्रघाती निर्णयमार्फत विदेशी स्वार्थ पूरा गरेर प्राप्त भएको हो भन्ने बुझ्न नेपाली जनताले ढिलो गर्नुहुँदैन ।
नेपाली भाषा र संस्कृतिलाई कमजोर पार्ने निर्णयमा कतिपय नेताको मौनता र स्वार्थी राजनीतिक व्यवहारले अझै गम्भीर संकेत दिएको छ । महाकाली सन्धिबाट सुरु भएको राष्ट्रघातको क्रम अझै रोकिएको छैन । खोक्रो राष्ट्रवादका नारामुनि सत्ता भोग गर्नेहरूले यस्ता संवेदनशील विषयमा जनता झुक्याउने काम मात्र गरेका छन् ।
अब प्रश्न छ, हामी नेपाली कति समय टुलटुल हेरेर बस्ने ? पुर्खाको रगत–पसिनाले आर्जिएको यो वीरहरूको देशमा, हामीले आफ्नो भाषा, संस्कृति र पहिचान मेटिन दिइरहने हो भने राष्ट्र नै अस्तित्वविहीन हुनेछ ।
समाधान स्पष्ट छ, जनजागरण । नेपाली जनताले भाषा र संस्कृतिमाथि प्रहार गर्ने कुनै पनि निर्णयलाई स्वीकार्न सक्दैनन् । हामीले शान्तिपूर्ण तर दृढ स्वरमा सरकारलाई सचेत गराउनुपर्छ, राष्ट्रिय भाषा, संस्कृतिलाई उपेक्षा गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्छ ।
हाम्रो राष्ट्रिय पहिचान बहुभाषा, बहुसंस्कृति र बहुजाति मिश्रणमै बस्छ । तर, त्यस विविधताको आधारशीला नेपाली भाषा र संस्कृतिलाई कमजोर पार्ने कुनै पनि कदम सह्य छैन । नेपाली भाषा मात्र होइन, नेपालकै अस्तित्वलाई जोगाउन, हामी सबै देशभक्तहरूले उठ्नुपर्ने समय आएको छ ।
देशभक्त नागरिकहरूको एउटै आवाज हुनुपर्छ, ’भाषा र संस्कृति जोगाऊ, राष्ट्र बचाऊ ।’
(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।)