रामहरी खतिवडा किन बाध्य भए राजीनामा दिन ?
काठमाडौं, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले आज प्रतिनिधि सभाको बैठकबाट राजीनाको घोषणा गरेका हुन् । आफू दोषी नभए पनि राजीनामा दिएको उनको भनाइ छ ।
बैठकलाई सम्बोधन गर्दै खतिवडाले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’
खतिवडाले पार्टीले प्रतिनिधि सभाबाट राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिन दबाब नदिएको पनि स्पष्ट पारेका छन् । उनले समिति बनेकै दिन गाडी फिर्ता गरेका थिए । पार्टी र सभापतिको दबाबले नभइ आफ्नै मनले नमानेर सभापतिबाट राजीनामा दिएको उनले सञ्चारकर्मीसँग बताए।


