२४ श्रावण २०८२, शुक्रबार | August 8, 2025

अभिमन्यु बनाउन नखोज !


747
Shares

सुभद्राको गर्भमा
उसले पाएको ज्ञान
अधुरो रअपुरो थियो भन्दैमा
मैंले पाएको ज्ञान पनि अपूर्ण
सायद तिम्रो निष्कर्ष
तिम्रो बचकना
थाहा छैन तिमीलाई
मैंले त ज्ञानगङ्गा सर्लक्कै छिचोलेको छु
मलाई थाहा छ त्यो युद्ध रचना र सैन्य व्यूह
र थाहा छ चक्रव्यूह भेदने
र सकुशल निस्कने कला
सायद तिमी आत्तिन्छौ
नराम्ररी झस्किन्छौ
डराउँछौ अभिमन्युको नैतिक आभासँग
त्यो तिम्रो ठूलो कमजोरी
मैंंले जिम्मा लिन सक्तिन
र बोक्न सक्तिन
तिम्रो मुर्खताको भारी
चक्रव्युहका सातै द्वार
थाहा छ मलाई
आरपार गर्न
राम्ररी आउँछ
महाभारतका महारथीहरुको
कायरतापूर्ण कर्तुत
मेरो मानसपटल दौडिरहेको छ
निहत्था योद्धा माथिको प्रहार
युद्धको नियम बिपरित
दुर्माशन लगायर घृणित कुकर्म गराउने
तिम्रो दुष्कर्म बुझ्दछु म
कलियूगका भिष्म,द्रोण र कर्णहरु
राम्रोसँग चिन्दछु म
तिम्रा अहङ्कारी सिमाहरु थाहा छ मलाई
भो दुस्साहस नगर
अनि शिर दान गर्ने
बर्बरीक पनि होइन म
न शिर दान गर्छु
न त तीर नैं
मलाई टाकुरामा बसेर
अभिमन्यु बधको आततायी दृष्य
अवलोकन गर्नु छैन
एकान्त पहाडी चोटिबाट
मेरा अमोघ तीन बाणले
खतम गरिदिन सक्छु
महाभारतको लडाइँ एकैदिनमा
मलाई कलियूगमा पुजिने बरदान चाहिएको छैन
न त म द्वापरको अभिमन्यु हुँ
बेहिसाव मारिने
न त बर्बरीक नैं हुँ
टाउको काटेर दिने
एउटा कुरा राम्रोसँग याद गर
तिमीलाई घनघोर बिनाशले
तिम्रै करेसाबारीमा
पर्खिरहेछ ।

प्रतिक्रिया