नेपाल इन्भेस्टमेन्ट मेगा बैंकविरुद्धको आन्दोलनमा देशभरका भ्यालुयटर्स इन्जिनियरहरुको समर्थन

काठमाडौं,१५ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल भ्यालुयर्स एशोसियसनलाई देशभरका भ्यालुयटर्स इन्जिनियरहरुले समर्थन गरेका छन् । गत साउन १२ गते सोमबारदेखि मुल्यांकनसम्बन्धि सम्पुर्ण कार्य देशभर ठप्प पारेर सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरु आन्दोलनमा उत्रिएका हुन् ।
बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै अठार इन्जिनियरिङ पेशासँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरुले मुल्यांकन पेशामा देखिएका विद्यमान चुनौती तथा समस्या समाधानका लागि विभिन्न जायज मागहरु राखेर एनभिएले साउन १२ गतेदेखि सुरु गरेको चरणबद्ध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका हुन् ।
संयुक्त विज्ञप्तीमा एनभिएका अध्यक्ष ई.संजयकुमार महतो, नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई.सुवास चन्द्र बराल,सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष ई.लक्ष्मण केसी, प्रोगेसिभ इन्जिनियर्स एशोसिएन नेपालका अध्यक्ष ई.डा.भेषराज थापा र नेपाल राष्ट्रिय इन्जिनियर संगठनका संयोजक ई.विजय कुमार विष्टले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी,समाजवादी इन्जिनियरिङ्ग एशोसिएन नेपालका अध्यक्ष ई. विरोध रिजाल, इन्जिनियर्स जनमत संघका उपाध्यक्ष ई.अजय शर्मा, डेमोक्रेटिक इन्जिनियर्स एलान्यसको अध्यक्ष ई.धु्रव थापा, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरिङ्ग नेपालको अध्यक्ष ई.डा.हरेराम श्रेष्ठ, स्ट्रक्टचरल इन्जिनियर्स एशोसिएसन नेपालका अध्यक्ष ई.कृष्णसिंह बस्नेत,रिजनल एण्ड अर्बन प्लानरर्स सोसाइटी अफ नेपालका अध्यक्ष ई.किशोर कुमार झा, नेपाल जिओम्याट्रिक्स इन्जिनियरिङ्ग सोसाइटीका अध्यक्ष ई.महेश थापा,सोसाइटी अफ मेकानिकल इन्जिनियर्स नेपालको अध्यक्ष ई. सत्य नारायण शाह,सोसाइटी अफ नेप्लीज आर्किटेक्टका अध्यक्ष आ.ईश्वरलाल जोशी र सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरका अध्यक्ष ई. ठाकुर प्रसाद शर्मालगायतले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले साउन १२ गते सोमबार देखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने निर्णय गरेर आन्दोलनमा उत्रिएको हो । काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ ।
एनभिएका केन्द्रीय सचिव ई. रबिन्द्र अधिकारीले आन्दोलनको समयमा एनआइएमबी बैंकमा सुचिकृत भई काम गरेको पाइएमा ती सदस्यहरुलाई एनभिएको सदस्यता नदिने र पुरानो समेत सदस्यता खारेज गर्ने चेतावनी दिएका छन् ।