लामाले गुमाए संसदीय दलमा विश्वास, इन्द्र बानियाँ मुख्यमन्त्री बन्लान ?

काठमाडौं,१३ साउन । बागमती प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्।
संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाले १५ मत पाउँदा उनको विपक्षमा २२ मत परेको हो । लामा अल्पमतमा परेसँगै संसदीय दलको नेताबाट हात धुन परेको छ ।
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन्।
२२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा गर्न नैतिक दबाब बढेको छ।
लामाविरुद्ध केही दिन अघि राजीनामा दिएका ४ मन्त्रीसहित २१ जनाले हस्ताक्षर गरेर संसदीय दलको नेतामा अविस्वासको प्रस्ताव दर्ता गरिएको थियो । आज खानेपानी मन्त्री श्याम घिमिरेले पनि राजीनामा मुख्यमन्त्री लामालाई बुझाएर विपक्षीलाई समर्थन गरेका थिए ।