८ श्रावण २०८२, बुधबार | July 24, 2025

नेपाल-भारत गृहसचिवस्तरीय वार्तामा के के भयो


332
Shares

काठमाडौं, ७ साउन । नेपाल र भारतबीच गृहसचिवस्तरीय वार्ता भएको छ । ६ साउनमा भएको वार्तामा दुई देशबीच सुरक्षा समन्वय र मिलेर चुनौतीको सामना गर्नेबारे छलफल भएको बताइएको छ ।

गृहसचिवस्तरीय वार्तामा नेपाली टोलीको नेतृत्व गृहसचिव गोकर्णमणि दुवाडी र भारतीय टोलीको नेतृत्व भारतका गृहसचिव गोविन्द मोहनले गरेका थिए । वार्तापछि जारी विज्ञप्तिमा दुवै पक्षले द्विपक्षीय सुरक्षा समन्वय, सीमा व्यवस्थापनलगायतको पुनरावलोकन गरेका थिए । यी मामलालाई अझ सुदृढ बनाउने सहमति गरे ।

सीमा स्तम्भको मर्मन, सीमा पार अपराध नियन्त्रण, सीमा जोडिएका जिल्लाहरुमा समन्वय समितिलाई प्रभावकारी बनाउने, सीमा पूर्वाधारमा विशेषगरी सडक, रेल सञ्जाल, सुरक्षा निकायको सुदृढीकरण र क्षमता अभिवृद्धिका विषयमा पनि छलफल गरेका छन् । प्रकोपको जोखिम कम गर्ने र व्यवस्थापनको क्षमता अभिवृद्धिबारे पनि सहमति बनाएका छन् ।

नेपालको भूमि हुँदै तेस्रो मुलुकबाट भारतमा धर्मान्तरणलगायत सामाजिक अस्थिरता फेलाउने अभिप्रायले रकम छिरिरहेको विषय बाहिर आइरहँदा नेपाल र भारतका गृहसचिवस्तरीय वार्ता भएको हो । वार्ताका क्रममा सीमापार अपराध र सीमापार आतंकवादको चुनौतीबारेपनि छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया