चिनियाँलाई भारतले भिजिट भीसा पुनः खोल्ने

एजेन्सी, ७ साउन । भारत र चीनबीच सम्बन्ध सुधार हुँदै गएको छ । २०२० मा गलवान झडपपछि दुई देशबीच तनाव बढेको थियो । तर, पछिल्लो समय दुवै देशका उच्च अधिकारीहरुको भेट बाक्लो हुन थालेको छ ।
चीनका राष्ट्रपति सी चिनफिङसँग भारतका विदेशमन्त्री एस जयशंकरले दुई हप्ता अघि भेटेका छन् । यो भेटले सम्बन्ध अझ प्रगाढ भएको छ । यसअघि भारतका रक्षामन्त्री राजनाथ सिंह चीनको भ्रमणमा गएका थिए ।
पछिल्लो भ्रमणहरुपछि दुवै देशबीच सम्बन्ध सामान्य हुनथाल्यो । भारतले चिनियाँलाई २०२० अघि दिदै आएको पर्यटक भीसा रोकेको थियो । अब त्यसलाई पुनः खोल्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतसँगको सीमापार भ्रमण सहज भएमा दुवै देशलाई लाभ हुने उल्लेख गरेको छ ।
चीनले पनि भारतका तीर्थयात्रीलाई कैलाश मानसरोवरको यात्रा सहज बनाइदिएको छ । उनीहरुका लागि यात्रा खुल्ला गरेको छ ।
उता यूरोपेली युनीयनले रुसी तेल खरिद गर्दै आएको भारतलाई अप्ठ्यारोमा पार्न खोजेको छ । तर, भारतका विदेश सचिव विक्रम मिश्रीले यूरोपेली युनीयनलाई कडा जवाफ दिदै भारतको जनताको ऊर्जा सुरक्षालाई केन्द्रमा राखेर कार्य गर्ने बताए । यो घटनाले भारतको पश्चिमाहरुसँगको सम्बन्धमा दरार पैदा हुन थालेको संकेत मिलेको छ ।