‘डार्क फाइल’का फेक अडियो प्रकरणमा दोषी ठहर तिमल्सिना पक्राउ

काठमाडौं,५ साउन । सिधा कुरा डटकमको कार्यक्रम ‘डार्क फाइल’ लाई फेक अडियो फाइल उपलब्ध गराएको अभियोगमा ६ महिना जेल सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई इटहरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
न्यायाधीस,कानुन व्यवसायी र पत्रकारलाई विभिन्न आरोप लगाएर तयार पारिएको सो अडियो फेक भएको पृष्टि भएसँगै उनलाई सजाय तोकिएको थियो । अदालतले २ पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो । पत्रकारहरु एक हप्ता कैद भुक्तान गरेर रिहा भइसकेका छन् ।
तिमल्सिालाई फेक अडियो बनाएको ठहर गर्दै सर्वोच्चले माफी माग्ने अवसर पनि दिएको थिएन भने रकम तिरेर कैद बाहिर बस्ने सुविधा समेत उनले नपाउने गरी गत असोज १३ गते उक्त फैसला सुनाइएको थियो । त्यसपछि तिमिल्सिना भने फरार थिए ।
इटहरी ५ पचरुकी चोकमा २ जना महिलाबीच लेनदेनको विवाद मिलाउन पुगेको प्रहरीले उनी जोडिएपछि तिमिल्सिनालाई पनि सोधपुछ गरेको थियो । उनले सुरुमा आफ्नो परिचय झुठो बताए पनि परिचय पत्र हेरेपछि मात्रै फरार अभियुक्त भएको खुलेको प्रहरीले जनाएको छ ।