शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने राजन केसीको ठोकुवा

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे । उनले भने,‘हाम्रो दलको विद्यानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ। पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ । दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ । संख्या छ भने प्रयोग गर्नुपर्छ ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीभित्रको विवाद र बहस स्वभाविक भएको भन्दै यही विवादको कारण पार्टी विभाजन नहुने दाबी गरे । उनले भने,‘यो पार्टी विभाजन भन्ने कुरा बाहिरी हल्ला हो । हामीले विभाजन देखिसक्यौं । जहाँसम्म विचारको कुरा छ, छलफल हुन्छ । सरकार परिवर्तन हुँदैन । गठबन्धन परिवर्तन हुँदैन ।’ उनले नेपालमा कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाईएको भन्दै यो संसारमै भएको विरलै प्रयोग भएको बताए ।
साक्षात्कारमा बोल्दै उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने सुझाए । उनले मुलुकको खास संकट भनेको रोजगारी सिर्जना गर्न नसक्नु भएको उल्लेख गर्दै अहिलेको सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने,‘यो मुलकको संकट भनेको रोजगारी नहुनु हो । देशमा समृद्धि कसरी आउँछ भनेर यो विषयमा विकासविद् र प्रशासनविद्सँग छलफल गर्नुपर्छ । मुलुकको स्रोत र साधनलाई ठीक ढंगले परिचालन गर्न सकियो भने समृद्धि ल्याउन सकिन्छ । यो मुलुक अथाह सम्भावनाले भरिएको छ। जलस्रोत, पर्यटन, कृषि, हाम्रो जनशक्ति यी सबै देशको अथाह सम्भावना हुन् । यो व्यवस्थाभन्दा उच्च अर्को व्यवस्था हुन सक्दैन् । बरु, यसलाई करेक्सन गर्नुपर्छ ।’
उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे । अहिलेको सरकार बनाउँदा आफूहरुले संविधान संशोधन गर्ने भनेको उल्लेख गर्दै अब पहलो प्राथमिकतामा समृद्धिलाई राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाई छ । उनले भने,‘हाम्रो देशको जनसांख्यिक लाभ घट्ने अवस्थामा छ । सूचना र प्रविधिको विकासलाई समात्नुपर्छ । आईटीबाट ठूलो संख्यामा युवाहरुलाई रोजगारी दिन सकिन्छ ।’ केसीले मुलुकमा भ्रष्टाचार भएको र अहिले कारबाहीपनि भैरहेको सुनाए । उनले भने,‘हिजो भएको भ्रष्टाचार जनतामा आउँदैन थियो, अहिले छिस्स केही भयो भने एकैचोटी सूचना प्रवाह हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई अब अभियानमा लिएर जानुपर्छ ।’