२२ असार २०८२, आइतबार | July 6, 2025

ठेकेदार भगाएर ग्वार्को फ्लाइओभर अड्काउने खेल यसरी भयो विफल


913
Shares

ललितपुर, २२ असार । देशमा निर्माण कम्पनीलाई दुःख दिने ठेकेदार भगाउने र निहित स्वार्थ पूरा गर्ने समूह राजनीतिक र कर्मचारीवृत्तमा बढ्न थालेका छन् । यस्तै स्वार्थी समूहले ग्वार्को फ्लाइओभरको निर्माण नै रोक्ने खेल खेलेको थियो । तर, त्यो खेल पूरा हुन पाएन र फ्लाइओभर सञ्चालनमा आयो ।

फ्लाइओभर निर्माणको जिम्मा पाएको आशिष समानान्तर रेलिगेर जेभीलाई सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट सबैभन्दा बढी अड्चन दिने गतिविधि भएका थिए । गुणस्तरका नाममा सातदोबाटोतर्फको पुरुवा नै भत्काउने लगाइएको थियो । २०८१ भित्रै निर्माण पूरा भइसक्नेमा पुरुवा भत्काएर पुनः भर्न लगाउँदा ढिलाई भयो । जसका कारण निर्माण कम्पनीले करोडभन्दा बढी हर्जाना तिर्यो ।

सातदोबाटोतर्फ फेरि भत्काउन लगाउनमा प्राविधिक समस्या त बहाना मात्र थियो । वास्तविकता ठेकेदारलाई भाग्न वाध्य बनाउने अवस्था सृजना गर्नु नै रहेको पत्ता लागेको छ । यसमा केन्द्रका इञ्जिनियर प्रभातकुमार झा लागेका थिए । उनी अनेकन बहाना गरेर निर्माण कम्पनीलाई अवरोध सृजना गर्थे । निर्माण नै रोकिदिने योजना अनुसार यी सबै भएका थिए ।

ग्वार्कोको जाममा तीन वर्षयता दुःख पाएका स्थानीयमा आक्रोश बढाउने नियतले एउटा समूह नै लागेको थियो । तर, ठेकेदार कम्पनीले घाटा व्यहोरेर भएपनि निर्माण पूरा गरिछाड्यो ।

ठेक्का सम्झौता १२ फागुन २०७८ मा सुरु भई ११ फागुन २०८० भित्र सम्पन्न गर्नुपर्ने थियो । ठेक्का रकम थियो १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ । निर्माण अवधि बढाएर ८ पुस २०८१ पुर्याइएको थियो । सोही अवधिमा निर्माण पूरा हुने अवस्था पनि थियो । तर, गुणतस्तरका नाममा अनेकन अवरोध झिक्दा केही ढिलाई भयो ।

हुँदा हुँदा सातदोबाटोतर्फको पुरुवा नै निकाल्न लगाइयो । ६ असार २०८२ मा फ्लाइओभर सञ्चालनमा आयो । सञ्चालनमा आउनुअघि पनि गुणतस्तरका नाममा पीच भत्काउन लगाउने देखि भारतौल जाँचका नाममा अनेकन बखेडा निकालियो ।

यसैगरी, निर्माण पूरा गरेपनि कम्पनीले भुक्तानी पाएको छैन । यसमा पनि विभिन्न बहाना देखाउन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेर ठूलो सफलता देखाइरहेका छन् । तर, निर्माण गर्ने कम्पनी भने भुक्तानी नपाएर छटपटीमा रहेको बुझिएको छ ।

देशमा समयमै भौतिक निर्माण हुन नदिन कर्मचारीतन्त्रभित्रै एउटा समूह लागिरहन्छ । त्यस्तो समूह निर्माण भएपछि पनि भुक्तानी रोकेर निहित स्वार्थ पूरा गर्न खोज्छ । ग्वार्को फ्लाइओभर असफल बनाउने खेल त सफल भएन । अहिले ठेकेदार कम्पनी भुक्तानी नपाएर छटपटीमा रहेको छ ।

यसै पनि ठेकेदार कम्पनी ग्वार्को फ्लाइओभरमा ठूलो घाटा व्यहोरेको पीडा पोख्दै आइरहेको छ । १८ करोडभन्दा बढी ठेक्कामा १ करोड त हर्जाना नै तिरेको छ । गुणस्तरले त्रुटी देखाइदिएर भत्काएर बनाउन वाध्य पार्दा अर्को घाटा छँदैछ । त्यसमाथि निर्माण पूरा गरेको भुक्तानी पनि नपाउँदा निर्माण कम्पनीहरु भविष्यमा यस्ता पूर्वाधार निर्माणमा आकर्षित नहुने अवस्था बनेको छ । यसले राज्यलाई भौतिक निर्माणका क्षेत्रमा नोक्शानी पर्न सक्छ ।-File Photo

प्रतिक्रिया