१ श्रावण २०८२, बुधबार | July 16, 2025

दृष्टि साप्ताहिकविरुद्ध अदालतको अवहेलनासम्बन्धी प्रतिवेदनमा विशेष अदालतको किर्तिमानी इजलाशले तरंग


14.1k
Shares

काठमाडौं, १० असार । विशेष अदालतले दृष्टि साप्ताहिकमाथि अदालतको अवेहलनासम्बन्धी प्रतिवेदन पेश भएकोमा पूर्ण इजलाशबाट सुनुवाई गरेको छ । विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र दृष्टि न्युज डट कममा प्रकाशित समाचारले अदालतको अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेकोमा सुनुवाई गर्न पूर्ण इजलाश गठन गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको नेतृत्वमा गठित इजलाशले दृष्टि साप्ताहिकलाई तीन दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । दृष्टि मिडिया प्रा.लि.का अध्यक्ष शम्भु श्रेष्ठले सुशासनका लागि दृष्टि कहिले नडगमगाएको र भविष्यमा पनि नडगमगाउने दृढता व्यक्त गरे । उनले विशेष अदालतले भ्रष्टाचारीलाई सफाई दिएका तथ्यहरु निरन्तर प्रकाशित गर्ने पनि बताए ।

दृष्टिन्यूजले कुन कुन विषयमा जवाफ दिने हो, सो विषयमा अदालतबाट दृष्टि मिडियाको कार्यालयमा कुनै पत्र आइपुगेको छैन । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाको नाममा विशेष अदालतले उक्त आदेश दिएको हो । विशेष अदालतको इतिहासमा पहिलोपटक सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेर दृष्टि मिडियालाई ३ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको घटनाले सिंगो सञ्चारमाध्यम तरंगित भएको छ ।

‘विशेष अदालतको यस निर्णयको सम्मान गर्दै कुन–कुन विषयलाई लिएर सम्मानित अदालतले तीन दिनभित्र जवाफ पेस गर्नु भनेको हो,’ अदालतको पत्र आएपछि ती विषयमा जवाफ दिने दृष्टिका सम्पादक शम्भु श्रेष्ठले बताए ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलाशले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाई गरेको थियो । नवराज सापकोटालगायतले पेश गरेको प्रतिवेदनमाथि विशेष अदालतले प्रारम्भिक सुनुवाई गरेको हो ।

विशेष अदालतको इतिहासमा पहिलोपटक पूर्ण इजलाश गठन भएको हो । पछिल्लो समय एकपछि अर्को अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भई समाचार हटाउने आदेश समेत दिइएको छ ।

नेपाली पेन डट कम र यसका प्रधान सम्पादक डा. दीपेश केसीलाई सर्वोच्च अदालतले समाचार हटाउन आदेश जारी गरेको थियो । केसीमाथि दायर मुद्दामा १ असोजका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया