वरिष्ठ अधिवक्ता श्रेष्ठले भनेः समाचार हटाउने आदेशबाट अदालत आफै अराजकतातर्फ उन्मुख

काठमाडौं, २८ जेठ । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अराजक शासकहरुलाई कानूनको दायरा सिकाउनुपर्ने अदालत आफै प्रकाशित समाचार हटाउने आदेशबाट आफै अराजकतातर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् । उनले यस्ता आदेशहरुको गम्भीर अध्ययन विश्लेषण गरी कानूनी उपचारको बाटो तय गर्ने पक्षमा आफूहरु रहेको समेत बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा सत्य र न्यायको खोजीका तर्फबाट पोष्ट गर्दै श्रेष्ठले एकपछि अर्को गरी अदालतले समाचार हटाउने आदेश दिइएको विषयलाई गम्भीर भनेका छन् । उनले लेखेका छन्, ‘अराजक शासकहरुलाई कानूनको दायरा सिकाउनु पर्ने अदालत डार्क फाइल सिधा कुरा डट कम मा भएको गलत प्रमाणिक मूल्यांकन, न्युज नेपाला प्रकाशित समाचार तत्कालै हटाउने आदेश र होटल हिल्टन प्रकरणमा संचारकर्मीलाई पक्राउ गर्ने आदेशबाट आफै अराजकतातर्फ उन्मुख भइरहेको देखिन्छ ।’
पत्रकार दिलभूषण पाठकलाई समाचार प्रशारणका विषयमा अदालतले हटाउन आदेश जारी गरेको र काठमाडौं जिल्ला अदालतमार्फत् पक्राउ पूर्जी जारी भएपछि श्रेष्ठको पछिल्लो भनाई आएको हो ।
यसअघि वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाली पेन डट कम र यसका प्रधानसम्पादक डा. दीपेश केसीविरुद्ध समाचार लेखेकै कारण परेको रिटका विपक्षमा बहस गरेका थिए । उनले अदालतले समाचार हटाउन दिएको आदेशमाथि पनि प्रश्न उठाएका थिए ।