काठमाडौं–१४ को योजना छनौट तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

काठमाडौं,२८ जेठ । काठमाडौं महानगरपालिका वडा न १४ का वडाध्यक्ष सुमन श्रेष्ठले वडावासीको चाहना अनुरूप नै योजना छनोट गर्न टोल–टोल पुगेको बताउनु भएको छ । जनताका गुनासो सुन्न र सुझाव संकलनका लागि टोल भेला आयोजना गरेको उहाँको भनाइ थियो ।
वडाले आयोजना गरेको छैटौं दिन सुनार गाउँमा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले टोलका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल भएको । यसबाट धेरै उपलब्धि हुने श्रेष्ठले दाबी गर्नुभयो ।
काठमाडौं वडा नम्बर १४ले बुधबार छैटौं (अन्तिम) दिन सुनार गाउँमा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सुनार गाउँ आसपासका बासिन्दालाई पायक पर्ने सुनार गाउँस्थित सार्वजनिक पार्टीमा बुधबार बिहान वडाले जनताको गुनासो सुन्न र सुझाव लिनका लागि सो कार्यक्रमको आयोजना गरेको हो । वडाले बिहीबार खड्कागाउँ, शुक्रबार शान्तिटोल,आइतबार बल्खु, सोमबार कलंकी र मंगलबार कुलेश्वरमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा जनताको गुनासो र सुझावबारे बोल्दै वडाध्यक्ष श्रेष्ठले आफु निर्वाचित भएपछि धेरै काम सम्पन्न गरेको बताउनु भयो । छुटफुट बाहेक अधिकांश काम सम्पन्न भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी केही टोलबासीले १४ नम्बर वडाका अध्यक्षसहित जनप्रतिनिधिका कामबाट सन्तृष्ट भएको बताए । अझै छुटफुट भए गर्न पनि सुझाव दिएका थिए ।
श्रेष्ठले काठमाडौं महानगरपालिकाले स्वर्णिम योजनामार्फत धेरै काम गर्दै आइरहेको जानकारी दिनुभयो । आ–आफ्नो टोल सफा राख्न सबैलाई आग्रह गर्दै उहाँले कसैले फोहोर फालेमा/गरेमा गोप्यरुपमा वडामा जानकारी दिन आग्रह गर्नुभयो । सूचना दिने व्यक्तिको नाम गोप्य राखिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
सुरक्षाको दुष्टिले समेत महत्वपुर्ण रहेको सीसी टिभि वडाका प्रत्येक टोलमा जडान गर्न माग भएकोले आगामी एकिकृत कार्ययोजनामा राखिने वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । काठमाडौं महानगरपालिकाको लक्ष्य अनुरुप सीसी टिभी जडान गर्ने कार्य अघि बढाउने उहाले जानकारी दिनुभयो ।
योजना छनौट गर्न १४ न वडाभित्र ६ वटा स्थान तोकिएको छ । ती ६ वटा स्थानमा भएको अन्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले सम्पुर्ण वडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने वडाले अपेक्षा गरेको छ ।
टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउदा विकासमा दिगोपन हुने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरे । भेलामा वडा न १४ का जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी, र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा टोलबासीले आफ्नो टोलको समस्या र विकासका सम्भावनाबारे जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।