बैङ्किङ क्षेत्रका समस्या समाधान गर्न एनभिए र डिबानबिच छलफल

काठमाडौं,२७ जेठ । नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए) र डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) का पदाधिकारीबीच मंगलबार बैङ्किङ क्षेत्रका विषयमा छलफल भएको छ । डिबानको कार्यालमा आज एनभिएका अध्यक्ष ई.सन्जय कुमार महतो र डिबानका अध्यक्ष सुयोग श्रेष्ठ नेतृत्वको पदाधिकारीको टोलीबिच छलफल भएको हो ।
तत्काल कन्सल्टेन्सी सर्भिस ड्राफ्ट सम्झौता गर्न दुई संस्थाबिच सहमति भएको छ । कन्सल्टेन्सी सर्भिस ड्राफ्टपछि फरक–फरक बैंकमा हुने फरक–फरक रिपोटको फर्माट,फरक फि को समस्या र आलोपालो प्रणालीका कुराहरु समाधान हुने एनभिएका सचिव ई. रबिन्द्र अधिकारीले बताए । उनका अनुसार वेब बेस्ड भ्यालुएशन डाटा म्यानेजमेन्ट सिस्टम कार्यान्वयन गर्न डिबान पनि सकरात्मक भएको छ ।
राष्ट्र बैंकको निर्देशिकामा रहेको दुई तिहाइ र कालोसुचीको व्यवस्थाले बैंक र मुल्यांकनकर्ता दुवै पक्षलाई समस्या भएकोले दुई संस्थाबीच संयुक्त रुपमा राष्ट्र बैंकलाई सो व्यवस्था संशोधन गर्न पहल गर्ने सहमति पनि भएको छ । हाल देखिएको समस्या मिलेर समाधान गर्न दुवै पक्ष एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, बैंकका कर्मचारी र मुल्यांकनकर्ताहरुलाई समय सापेक्ष तालिम दिन दुवै पक्ष सहमत भएका छन् । छलफलमा डिबानकी सिइयो मन्जिला डंगोलले पूर्वी क्षेत्रमा अन्डर भ्यालुएशन र पश्चिम क्षेत्रमा ओभर भ्यालुएशनको समस्या रहेको बताइन् । कतै कतै भ्यालुयर्सहरुले नै सिण्डिकेट लगाएकाले काठमाडौंबाट नै मुल्यांनकनकर्ता लैजानु परेको उनले गुनासो पोखिन ।
आज भएको छलफलले दुवै पक्षमा उर्जा ल्याएको र यसले मुल्यांकन पेशालाई थप पारदर्शी,मर्यादित एवं व्यवसायिक बनाउने कुरामा आफु विस्वस्त रहेको एनभिएका सचिव ई.अधिकारीले बताए।
यसैगरी,आजको छलफलले मुल्यांकन पेसामा शुद्धिकरण ल्याउने, ब्याङ्कर र मुल्यांकनकर्ताले आफ्नो भन्दा बैंकको हितमा सोचेर काम गर्ने र समस्याहरु समाधान हुँदै जाने कुरामा आशावादी रहेको एनभिएका अध्यक्ष ई.महतोले बताए ।
छलफलमा अध्यक्षसहित एनभिएका तर्फबाट वरिष्ठ उपाध्यक्ष ई.मुक्ति पाण्डे, उपाध्यक्षहरु ई.दिनेश कुमार पाठक,ई.प्रज्ञान घिमिरे,महासचिव ई.अशोक सिलवाल, सचिव ई.अधिकारी र डिबानको तर्फबाट अध्यक्षसहित सिइयो डंगोल, उपाध्यक्ष दिनेश थकाली,सचिव माधवप्रसाद उपाध्याय र सदस्य नरेशसिंह बोहोरा लगायत उपस्थित थिए ।