कुलेश्वर आसपासका खोला नालालाई व्यवस्थापन गर्न अध्यक्ष श्रेष्ठको महानगरलाई आग्रह

काठमाडौं,२७ जेठ । काठमाडौं महानगरपालिका–१४ को आज पाँचौ दिन कुलेश्वरमा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कुलेश्वर आसपासका बासिन्दालाई पायक पर्ने कुलेश्वरस्थित स्वास्थ्य प्रबद्र्धन केन्द्रमा मंगलबार बिहान वडाले जनताको गुनासो सुन्न र सुझाव लिनका लागि सो कार्यक्रमको आयोजना गरेको हो । वडाले बिहीबार खड्कागाउँ, शुक्रबार शान्तिटोल,आइतबार बल्खु, सोमबार कलंकीमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
बाढीबाट विशेष गरी १४ नम्बर वडा धेरै प्रभावित हुदै आएको भन्दै वडाध्यक्ष श्रेष्ठले सो विषयमा कार्यपालिका बैठकमा कुरा राखेको र महानगरपालिकाका मेयरलाई पनि जानकारी गराएको बताउनु भयो । आगामी वर्षमा पनि बाढी आए ती स्थान वरपर धेरै क्षति हुने भएकाले हानी कम गर्न समयमै बजेट छुट्टाएर महानगरलाई खोला नालालाई व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
करखुशी मार्गमा यो वर्ष बाढीले ठुलो क्षति पुराएको स्मरण गराउँदै उहाँले सानो बाढीले पनि ठुलो प्रभाव पार्न सक्ने भएकोले त्यहाँ प्लम ढलान गर्न सुरु गरिएको जानकारी दिनुभयो ।
स्थलगत रुपमा खोलानाला र बाढीले क्षति पुराएका टोलमा आफु पुगेर निरिक्षण गरेको र त्यसको समाधानका प्रयास भइरहेको समेत उहाँले बताउनु भयो । खोला नाला र बाढी प्रभावित बस्ती बचाउन आजकै दिनबाट लाग्ने पनि उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो ।
वडावासीको चाहना अनुरूप नै योजना छनोट होस् भन्ने उद्देश्यका साथ टोल भेलाहरू वडाले आयोजना गरेको हो । उहाँले टोलका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न वडाबासीलाई आग्रह गर्नुभयो । टोल टोलमा पुग्दा वडाबासीको समस्यालाई नजिकबाट बुझ्ने, समाधान गर्न सहज हुने र बजेट राख्दा परिणाममुखी हुने भएकोले कार्यक्रम टोल टोलमा आयोजना गरिएको बताउनु भयो ।
योजना छनौट गर्न १४ न वडाभित्र ६ वटा स्थान तोकिएको छ । ती ६ वटा स्थानमा भएको अन्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले सम्पुर्ण वडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने वडाले अपेक्षा गरेको छ ।
टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउदा विकासमा दिगोपन हुने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरे । भेलामा वडा न १४ का जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी, र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा टोलबासीले आफ्नो टोलको समस्या र विकासका सम्भावनाबारे जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।