काठमाडौं–१४ को दोस्रो दिन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं,२३ जेठ । काठमाडौं महानगरपालिका–१४ ले आज दोस्रो दिन मास्टरमार्गस्थित आरम्भ क्याफेमा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
शान्तिनगर,आयुषा कोलनी,खडकुले पुल एरियाका बासिन्दालाई केन्द्रीत गरेर दोस्रो दिन आज मास्टरमार्गस्थित आरम्भ क्याफेमा आयोजना गरिएको हो । बिहीबार वडाले खड्का गाउँमा सो कार्यक्रमको आयोजना गरेको थियो ।
मास्टरमार्गस्थित आरम्भ क्याफेमा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले केही गुनासो भए,कर्मचारीले दुख दिएको भए,कतैबाट दबाब आएको भए वडा कार्यालयमा जानकारी गराउन पनि वडाबासीलाई आग्रह गर्नुभयो ।
श्रेष्ठले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस् भन्ने उद्देश्यका साथ टोल भेलाहरू आयोजना गरेको जानकारी दिनुभयो । उहाँले टोलका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न वडाबासीलाई आग्रह गर्नुभयो । टोल टोलमा पुग्दा वडाबासीको समस्यालाई नजिकबाट बुझ्ने, समाधान गर्न सहज हुने र बजेट राख्दा परिणाममुखी हुने र उपलब्धीमुलक हुने भएकोले सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कहीकतै सडक पिच बिग्रेको भए जानकारी दिन र ठेकेदारलाई कारबाही गर्न सजिलो हुने उहाँले धारणा राख्नुभयो । र उहाँले केही दिन अगाडी गरेको पिच बिगार्ने बदमासहरुलाई कानुनी दायरमा ल्याउन पनि वडाबासीले सहयोग गर्नुपर्ने बताउनु भयो । सबै एकजुट भए विकास हुन धेरै समय नलाग्ने पनि उहाँको भनाइ थियो ।
त्यसैगरी श्रेष्ठले महिला दिदि बहिनीहरुलाई अचार,बनाउने गाजाँको झोला बनाउने लगायत तालिम वडाले दिएको र त्यसले आर्थिक रुपमा बलियो हुन सहयोग पुराउने समेत धारणा राख्नु भयो ।
योजना छनौट गर्न १४ न वडाले वडाभित्र ६ वटा स्थान तोकेको छ । ती ६ वटा स्थानमा भएको अन्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले सम्पुर्ण वडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने वडाले अपेक्षा गरेको छ ।
टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउदा विकासमा दिगोपन हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । भेलामा वडा न १४ का जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी, र स्थानीयहरुको सहभागिता रहेको थियो ।