काठमाडौं–१४ को योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम खड्कागाउँबाट सुरु

काठमाडौं,२२ जेठ । काठमाडौं महानगरपालिका–१४ ले कलंकीको खड्कागाउँ बाट योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । वडा न १४ का वडाध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबारदेखि सुरु भएको हो ।
योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम गुण केशरी युवा क्लब खड्का गाउँ खानेपानी ट्यांकीमा आयोजना गरिएको थियो । वडाध्यक्ष श्रेष्ठले टोल टोलमा पुग्दा वडाबासीको समस्यालाई नजिकबाट बुझ्ने, समाधान गर्न सहज हुने र बजेट राख्दा परिणाममुखी हुने भएकोले सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । श्रेष्ठले वडावासीको चाहना अनुरूप नै योजना छनोट होस् भन्ने उद्देश्यका साथ वडा भेलाहरू आयोजना गरेको जानकारी दिनुभयो । उहाँले वडाका आवश्यकता, सम्भावना र चुनौतीहरूको बारेमा गहन छलफल गरी बढीभन्दा बढी लाभ प्राप्त हुने योजना छनोट गर्न आग्रह गर्नुभयो ।
श्रेष्ठ निर्वाचित भएपछि वडाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई तथा योजना छनौट कार्यक्रम गर्दै आइरहेको छ । योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रमका लागि खड्का गाउँ पुग्नु भएका श्रेष्ठले टोल–टोलबाट उठेका गुनासोहरुलाई सम्बोधन गर्ने र योजनाहरुलाई प्राथमिकताका आधारमा खड्का गाउँलाई विकास गर्न बजेट प्रस्तुत गरिने स्पष्ट पार्नुभयो ।
बजेट निर्माण गर्दा पूर्वाधारलाई प्राथमिकता दिने बताउँदै उहाँले त्यसमा पनि मुख्य ढल,सडक पिच र ढलानहरुमा केन्द्रीत भएको जानकारी दिनुभयो । यी बाहेक महिला शसक्तिकरण,खेलकुद सिपमुलक, शिक्षा,स्वास्थ्य, मानसिक स्वास्थ्यसम्बन्धि पनि बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनु भयो ।
योजना छनौट गर्न १४ न वडाले वडाभित्र ६ वटा स्थान तोकेको छ । ती ६ वटा स्थानमा भएको अन्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले सम्पुर्ण वडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने वडाले अपेक्षा गरेको छ ।
वडाका समस्या समाधानका लागि वडाध्यक्ष श्रेष्ठले वडाका सम्पुर्ण जनप्रतिनिधि,वडा सदस्यको पनि साथ पाउनु भएको छ । वडाबासीका समस्या टिमवर्कबाट तत्काल समाधान गर्ने गरेको उहाँले सुनाउनु भयो ।
टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउदा विकासमा दिगोपन हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । भेलामा वडा न १४ का जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी, र स्थानीयहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सहभागी एक युवाले खड्का गाउँमा योजना विकासमा ९९ प्रतिशत काम भएको र अब बौद्धिक विकासमा ध्यान दिन सुझाव दिएका थिए ।
अर्का एक सहभागीले खोला छेउमा बार नभएकाले दुर्घटना भएको भन्दै बार राख्न पनि सुझाव दिएकी थिइन् ।
पछिल्लो समय घर भाडामा दिंदा घर धनी र भाडावालबीच समस्या आएको जानकारी दिदैं आगामी दिनमा भाडावालको सम्पुर्ण डिटेल्स लिनुपर्नेमा जोड दिएका थिए ।