९ जेष्ठ २०८२, बिहिबार | May 22, 2025

विद्रोह अघि वैद्य माओवादीभित्र बलात्कारी देखि बहुपत्नी राख्नेको शल्यक्रिया


12.8k
Shares

काठमाडौं, ८ जेठ । मोहन वैद्य नेतृत्वको ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल’ पुनः फुटको संघारमा पुगेको छ । पार्टीमा नैतिक रुपमा पतन र चरित्रहीनलाई महत्वपूर्ण पद दिएको भन्दै एउटा गुटले विद्रोह गर्ने निश्चित भएको हो ।

उक्त गुटले अपाङ्ग महिला बलात्कार गर्नेदेखि, व्यक्तिस्वार्थी हत्यारा, अवैध रुपमा तीन–तीन वटा श्रीमती राख्ने तथा अर्काकी श्रीमती भगाउने, व्यक्तिगत चन्दा असुली गर्नेसम्मका व्यक्तिहरूकै हालीमुहाली बढेको आरोप लगाएको छ । गुटका नेताहरुले गम्भीर आरोप लगाउँदै समान्तर पार्टी गठनको तयारी गरेका हुन् ।

पार्टी उच्च स्रोतका अनुसार, काठमाडौंको अनामनगरस्थित ‘इच्छुक प्रतिष्ठान’मा मंगलवारदेखि चलेको पोलिटव्युरो बैठकमा अन्तिम दिन विहीवार केही सदस्यले पार्टीभित्र बढेको आर्थिक र साँस्कृतिक विचलनको विषय उठान गरेपनि त्यसमाथि कुनै सुनुवाई नै नभएको भन्दै ‘अब यसरी बस्न नहुने’ निष्कर्षमा प्रभावशाली नेता नै पुगेका छन् ।
उसो त वैद्यले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), धर्मेन्द्र वास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मसाल)बीच १३४औं मजदुर दिवसको अवसरमा २०८० वैशाख १८ गते पार्टी एकता भएर ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल’ बनेको हो । तर, त्यसको करिव १ वर्षपछि अर्थात् २०८१ वैशाख १७ गते पूर्णसिंह (समरजंग) सहितको एक समूह बाहिरियो । त्यतिबेला पार्टी विभाजनको पक्षमा पूर्णसिंहसहित, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्टलगायत रहे ।

त्यस फुटको घाउमा खाटा बस्न नपाउँदै पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा साँस्कृतिक समस्या देखापरेको भन्दै झण्डै एक महिनापछि धर्मेन्द्रसहितको कार्यालय सदस्यहरूको टोली पनि चोइटियो । यद्यपि आयोजक सदस्यहरूको टोली भने ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल’ मा नै अड्कियो । त्यो टोली भनेको हेमन्तप्रकाश वली (सुदर्शन) नेतृत्वको हो । यतिबेला पार्टी पोलिटव्युरो वैठकमा पनि सोही समूहको गतिविधिलाई इंगित गर्दै असन्तुष्टी चुलिएको स्रोतको दावी छ ।

अहिले ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल’ मा १९ वैकल्पिकसहित ५८ सदस्यीय पोलिटव्युरो र ८० वैकल्पिकसहित ११७ केन्द्रीय सदस्य छन् । यसमा वली गुटका करिव ३२-३३ केन्द्रीय र ६-७ जना पोलिटव्युरो सदस्य छन् । वलीकैै एक भित्रियाका भनाइमा युद्धकालमा निकै उत्पाद मच्चाएपछि उनलाई प्रचण्डले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरे पनि पछि जनार्दन शर्मा (प्रभाकर)ले बचाएका हुन् । पछि पुनः आतंक मच्चाउँदा प्रभारक नै ओलीलाई झापड लगाउन विविश भए । अनि उनी विप्लवको सहारामा आइपुगे । आर्थिक, साँस्कृतिक, सामाजिक तथा राजनीतिक सबै क्षेत्रमा विवादित पात्रलाई प्रवेश नगराउन भन्दै त्यहाँ पनि खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतले ‘नोट अफ डिसेन्ट’ नै लेखेका हुन् । अन्ततः वली सोझा राजनीतिज्ञ वैद्यको ओतमा आइपुगेका हुन् । उनले आफूजस्तै विवादित पात्रहरू केदार खतिवडा, भीम चापागाईं आदिको सहारा लिने गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया