५ जेष्ठ २०८२, आइतबार | May 18, 2025

तरुणदल लमजुङ घटना: अस्वस्थ गुटबन्दीको नतिजा


830
Shares

काठमाडौं,४ जेठ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले तरुण दल लमजुङको जिल्ला अधिवेशनको क्रममा भएको घटनालाई पार्टीभित्रको अस्वस्थ गुटबन्दीको संज्ञा दिएका छन् । सो घटनाले दलको आन्तरिक अव्यवस्था र चरम अनुशासनहिनतालाई दर्शाएको उनको भनाइ छ ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,“ऐतिहासिक प्रतिष्ठा बोकेको नेपाली प्रजातन्त्रवादी तरुणहरुको नेतृत्वदायी यस संस्थाको आन्तरिक आयोजनामा घटेको हिंस्रक घटनाले हाम्रो बोली र व्यवहारको तात्विक अन्तर तथा संगठनको अराजकतापूर्ण यथार्थलाई प्रष्ट पार्छ ।”

“यो सबै पार्टीको प्राथमिकता,तदर्थवादी नीति र अस्वस्थ गुटबन्दीको नतिजा हो भन्दा अतिशयोक्ति हुनेछैन। र यो आफ्ना भ्रातृसंगठनलाई बिधिसम्मत चलाउन नचाहने पार्टी नेतृत्व र केन्द्रीय समितिको प्रबृत्तिगत जिवन्त सबुत पनि हो ।” नेता घिमिरले अगाडी लेखेका छन्,“यसले प्रजातन्त्र भनेको सिद्धान्त र अभिव्यक्ति मात्र होइन,चरित्र र व्यवहार हो भन्ने सत्यलाई उजागर गरेको छ ।”

शनिबार नेपाल तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको घटना बाहिर आएको थियो । अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति बिग्रिएर खुकुरी प्रहारसम्म पुगेको थियो । सो घटनामा तीन जना घाइते भएका थिए ।

सबैभन्दा ठुलो लोकतान्त्रिक दल कांग्रेसले आफ्ना प्रमुख भातृ संस्थाहरुलाई गत २०८१ चैत्रमहिना भित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । ५ भातृ संस्थाहरुले मात्र नयाँ कार्य समिति चयन गरेका छन् भने ८ भ्रातृ संस्था अन्तरविवाद मै अल्झिएका छन् ।

भातृसंस्थाहरुको महाधिवेशन गर्न नसक्दा पार्टीभित्र नेतृत्वको चर्को विरोध हुँदै आएको छ । प्रमुख भ्रातृ संस्थाका रूपमा चिनिने नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन गर्न सकेका छैनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।

 

प्रतिक्रिया