सिन्दूर उजाडेको बदला लिएको बताउँदै मोदीले भनेः कुनैपनि आणविक ब्ल्याकमेल भारत सहँदैन

एजेन्सी, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहगाम हमलामा महिलाको सिन्दूर मेटेको बदला लिएको बताएका छन् । उनले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै भारतका दिदीबहिनीहरुको सिन्दूर उजाड्नेहरुलाई ठेगान लगाएको भन्दै कुनैपनि आणविक ब्ल्याकमेल नसहने बताए । कसैको आणविक अस्त्र देखाउँदैमा आतंककारीको अखडामा प्रहार गर्न नछाड्ने बताए ।
मोदीले भने, ‘हाम्रा बहिनीहरुको सिन्दूर उजाडेका थिए । आतंकीको हेडक्वार्टर उजाडिदियौं ।’ भारतले सयभन्दा बढी खुंखार आतंककारीलाई मृत्युमा पुर्याएको बताए । खुलेआम पाकिस्तानमा घुमेर भारतविरुद्ध षड्यन्त्र गर्ने आतंककारीलाई सिध्याएको उनको भनाई थियो । मारिएका आतंककारीको अन्त्येष्टिमा ठूला ठूला सैन्य अधिकारी देखिएको बताउँदै भने, ‘यो स्टेट स्पनसर टेररिज्मको ठूलो उदाहरण हो ।’
पाकिस्तानविरुद्ध कडा रुपमा प्रस्तुत भएका मोदीले पाकिस्तानले सैन्य दुस्साहस गरेको बताए । पाकिस्तानले आतंककारीविरुद्धको लडाईँमा भारतलाई साथ दिनुको साटो उल्टो मन्दिर, गुरुद्वारा, कलेज, स्कुल, सर्वसाधारणको घरलाई तारो बनाएको बताए ।
उनले विश्वसामु पाकिस्तानको मुखुण्डो उत्रिएको भन्दै ड्रोन र मिसाइललाई आकाशमै नष्ट गरिदिएको बताए । पाकिस्तानले फेरि सैन्य दुस्साहस नगर्ने भन्दै आतंककारीको जरा नै निकाल्ने बताए ।