दुर्गा प्रसाईँ यसरी पुगेका थिए आसाम

काठमाडौं, २९ चैत्र । तीनकुनेको राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाईँको नाटकीय गतिविधिले धेरै रहस्य जन्माएको छ । तीनकुनेमा उनले प्रहरीलाई नै किचौंला जरी गाडी हाँकेका थिए । हिंसामा बदलिएको उक्त घटनापछि प्रसाईँ फरारको सूचीमा थिए ।
तीनकुने घटनापछि पहिलोपटक मन्दिरमा बसेर उनले भिडियो सार्वजनिक गरे । आफू देशभित्रै सुरक्षित अवस्थामा रहेको बताए । त्यसपछिको केही दिनमा उनले अर्को भिडियो सार्वजनिक गरेर मानवअधिकारवादीको रहोबरमा सार्वजनिक हुने बताए ।
तर, बिहिबार नयाँ घटना विकास भयो । प्रसाईँले आफूले आसाम प्रहरीसामु गिरफ्तारी दिएको सामाजिक सञ्जालमा लेखे । यसले नयाँ रहस्य जन्माएको छ । उनी पक्राउ परेको खबर पनि आयो । तर, प्रहरीले पक्राउ नपरेको विज्ञप्ति जारी गर्यो ।
नेपाल र भारतबीच सुपुर्दुगी सन्धी नभएको र एक अर्काको अभियुक्त अनौपचारिक रुपमा सुपुर्दुगी गर्ने प्रचलन छ । त्यसैले प्रहरीले आसाममा नभई नेपालभित्र पक्राउ परेको सन्देश दिन खोजेको छ । प्रहरीले उनलाई आसामबाट ल्याउने बुझिएको छ ।
प्रसाईँको आसामका केही नेपाली र अन्य व्यक्तिहरुसँग विशेष सम्बन्ध छ । त्यसैले उनी उतै आवतजावत गरिरहन्छन् । तीनकुने घटनापछि उनी स्थलमार्ग हुँदै सीमा कटेको बुझिएको छ । त्यसमा उनले विभिन्न व्यक्तिहरुको पनि सहयोग पाएका थिए । यसले पनि रहस्य जन्माएको छ ।