फेरि चुके ज्ञानेन्द्र

समाचार विश्लेषण । दरबारहत्याकाण्डमा वीरेन्द्र शाहको वंशनाशपछि राजा बनेका थिए ज्ञानेन्द्र शाह । महेन्द्रका माइला छोरा ज्ञानेन्द्रको स्कुलिङ राजा बन्ने थिएन न त उनका छोरा पारस शाहकै थियो । व्यापारी पृष्ठभूमिका शाहलाई राजा बन्ने अवसरपछि महत्वाकांक्षा जाग्यो । उनले २०५८ असोज १८ मा सत्ता हातमा लिए ।
ज्ञानेन्द्र शाहले सत्ताको चाबीसाँचो नै आफ्नो हातमा लिने क्रममा खुंखार पञ्च डा. तुलसी गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए । अर्का पञ्च किर्तिनिधि बिष्ट पनि उपाध्यक्ष बनाइए । पूर्वपञ्चहरुले सत्तामा फेरि अवसर पाए । शाहको पात्र चयनको कमी कमजोरी र सल्लाहकारहरुको गलत सल्लाहले राजसंस्था नै अन्त हुने परिस्थिति बन्यो ।
पूर्वराजा बने ज्ञानेन्द्र शाह । उनी गद्दीमा फर्कने प्रयास चलाइरहे । उपयुक्त पात्रहरुको खोजीमा रहे । तर, पुराना विश्वासपात्रकै सुनिरहे ।
देशमा हिन्दुराष्ट्रका लागि गतिविधि बढिरहेको छ । हिन्दुत्वको विचार फैलिइरहेको छ । हिन्दुराष्ट्रमा जागरण बढ्न थालेको मौकालाई आफ्नो स्वार्थमा ढाल्न कट्टर राजावादीहरु लागिपरे । उनीहरुले हिन्दुराष्ट्रभन्दा राजा फर्काउने मुद्दा मुख्य हो जसरी मुद्दालाई उछिन्न खोजे । नवराज सुवेदी जस्ता महापञ्चलाई आन्दोलन समितिमा ल्याए । दुर्गा प्रसाईँ त कमाण्डर नै बनाइए ।
राजेन्द्र लिङ्देन, कमल थापा, पशुपति शमशेर राणा जस्ता राजाका पक्षधरलाई समेत वाइपास गरेर नवराज सुवेदी र दुर्गा प्रसाईँहरु अगाडि सारिए । जसका कारण उनीहरुले हाँकेको आन्दोलन दुर्घटनामा पर्यो ।
आज र भोलि नै राजा नारायणहिटी पुर्याउने जसरी हाट्टहुट् गर्न थाले प्रसाईँ । तर, परालको आगो जस्तै राजावादी आन्दोलन बल्यो निभ्यो । हिन्दुराष्ट्रको मुद्दालाई उछिन्न खोज्दा राजसंस्थाको मुद्दा दुर्घटनामा परेको छ ।