राजावादीको आन्दोलन अराजक र हिंसात्मक,सरकारबाटै घुसपैठ भएको दाबी

काठमाडौं । राजधानीको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएको राजावादीहरूको पहिलो दिनको आन्दोलन नै उग्र, अराजक हुँदै हिंसात्मक बन्न पुगेको छ । शुक्रबारको प्रदर्शनको कमान्डर तोकिएका दुर्गा प्रसाईंको उग्र, अराजक र कानुनलाई नै हातमा लिने गतिविधिका कारण भड्किएको माहोल अन्ततः व्यक्तिगत र सरकारी सम्पत्तिमा आगजनी र तोडफोड हुँदै मानवीय क्षतिसम्ममा पुगेको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा नै लागू गर्नुपरेको छ ।
काठमाडौंमा एकै दिन गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शन हुने भएपछि काठमाडौं जिल्ला प्रशासनले राजावादीहरूलाई तीनकुने र गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई प्रदर्शनीमार्गको ठाउँ उपलब्ध गराएकामा राजावादीहरूको प्रदर्शन भने हिंसात्मक बन्न पुगेको हो ।
विपरीत धु्रवका यी दुई पक्षधर आमनेसामने हुँदा स्थिति नियन्त्रणबाहिर जाने आकलनसहित सुरक्षा निकायले केही किलोमिटरको दूरीमा रहेका दुई अलगअलग स्थान दिएको थियो । साथै, जुलुसमा पनि भेट नहोस् भनेर सुरक्षा निकायले रुट पनि फरकफरक उपलब्ध गराएको थियो ।
तर, समाजवादी मोर्चाको प्रदर्शन र सभा शान्त र सौम्य बनिरहँदा राजावादी पक्षधरको प्रदर्शन भने हिंसात्मक बन्न पुग्यो । त्यसो त सुरुमा दुवैको कार्यक्रम शान्तिपूर्ण रूपमै भइरहेको थियो । तर, जब राजावादीहरूको प्रदर्शनका कमान्डर प्रसाईं सभास्थल तीनकुने आइपुगे, त्यसपछि भने तीनकुनेको प्रदर्शन अराजकतातर्फ उन्मुख भयो । आफैंले गाडी चलाएर आएका उनी निषेधित क्षेत्र उल्लंघन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयासमा लागेपछि स्थिति केहीक्षणमै तनावपूर्ण बन्न पुग्यो ।
यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा आफैंले गाडी चलाएर आएका प्रसाईं निषेधित क्षेत्र तोड्न अघि बढेको देखिन्छ । उनले गाडीबाट प्रदर्शनकारीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको पनि भिडियोमा देखिन्छ । अनियन्त्रित रूपमा गाडी चलाउँदै आएका उनी यति आवेशमा देखिन्छन् कि प्रदर्शनस्थलमा खटिएका प्रहरीले सावधानी नअपनाएको भए त्यहीँ उनको गाडीले किचेर मानवीय क्षति हुनसक्ने अवस्था पनि भिडियो हेर्दा देखिन्छ ।
यस्तै, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनी बेस्सरी चिच्याइरहेको सुनिन्छ । ‘के हेरेर बसेको रु यता आऔं’ भनेर प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उनले उक्साइरहेको देखिन्छ ।
वास्तवमा प्रसाईं र मिश्र दुई जनाको भड्किलो व्यवहारका कारण बिग्रिन सुरु गरेको तीनकुनेको अवस्था त्यसपछि भने थप तनावग्रस्त बन्न पुग्यो । सुरुमा शान्त र सौम्य देखिएका राजावादीहरू प्रसाईंको आगमन र उनले देखाएको व्यवहारका कारण उत्तेजित बन्न पुगे । त्यसपछि निषेधित क्षेत्र तोड्न अग्रसर भएका उनीहरू त्यसमा सफल नभएपछि भौतिक संरचना तोडफोड, आगजनी र लुटपाट गर्नतिर उद्यत देखिए । भीड नियन्त्रणका लागि सुरुमा प्रहरीले उनीहरूमाथि लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरेको थियो । तर, स्थिति नियन्त्रणमा आउन सकेन । बरु प्रदर्शनकारीहरू भने थप अराजक बन्न पुगे । त्यसपछि उनीहरूले लगातार सरकारी र व्यक्तिगत सम्पत्ति, प्रहरी कार्यालय, दलका पार्टी कार्यालयलाई निशाना साँधे ।
उनीहरूले सबैभन्दा पहिला इन्द्रेणी सहकारी, हाम्रो सुवाल ल एसोसिएट्स र सेन्टर फर इन्टिलेक्चुअल प्रपर्टी नेपाल प्रालिको कार्यालय रहेको सिसैसिसाको झ्याल भएको घरमा तोडफोड र आगजनी गरेका थिए । सो घरभित्रबाट प्रहरीले आफूहरूमाथि दमन गरेका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको प्रदर्शनकारीको दाबी छ ।
सो घरमा आक्रमण र आगजनी गरेपछि प्रदर्शनकारीले सभास्थलनजिकै रहेको कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालय भवनमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरूले सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालय, कोटेश्वस्थित प्रहरी बिट, जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालय, आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय, कोटेश्वरको भाटभेटनी सुपर स्टोरमा निसाना साँधे । यस्तै, उनीहरूले मनोहरा खोला किनारमा गुड्दै गरेका आधा दर्जन बढी सरकारी गाडीलाई रोकेर जलाए ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता शेखर खनालका अनुसार आन्दोलनकारीहरूले एउटा प्रहरीको गाडीमा आगजनी गरेका छन् भने प्रहरीका दुईवटा गाडीमा तोडफोड गरेका छन् । गृह मन्त्रालयका अनुसार आठवटा भन्दा धेरै सरकारी सवारीसाधनमा आगजनी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी पनि आन्दोलनकारीले जलाएका छन् । शुक्रबार संसद्को कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले परियार चढेको गाडी जलाएका हुन् । भक्तपुरस्थित घर फर्किंदै गर्दा बालकुमारीस्थित सीसीआरसी कलेजअगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइदिएको परियारले जानकारी दिए ।
प्रहरीले साँझसम्म हिंसात्मक गतिविधिमा संग्लन १७ जनालाई नियन्त्रणमा लिएको छ ।
राति १० बजे यो समाचार लेख्दासम्म राजावादीको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भइसकेको छ । तीन दर्जनभन्दा बढी घाइते छन् । अधिकांश घाइतेलाई गोली लागेको छ । घाइतेको सूचीमा प्रहरीको संख्या पनि लामै छ । घाइतेको प्रदर्शनकारीमा केहीको अवस्था गम्भीर छ ।
राजावादीको प्रदर्शनमा एक जनाको गोली लागेर र अर्का एक जनाको प्रदर्शनकारीले एउटा व्यक्तिगत घरमा लगाएको आगलागीमा परेर निधन भएको छ । मृत्यु भएका एक जनामा एभिन्युज टेलिजिनका पत्रकार सुरेश रजक छन् । सभास्थल तीनकुनेको छेवैमा प्रदर्शनकारीले आगो लगाएको भवनको दृश्य खिच्न गएका उनको त्यहीँ जलेर मृत्यु भएको हो । उनी सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका थिए । त्यहीबेला आगो दनदनी बढ्यो । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले आगो लागेको घरभित्र पत्रकार रजक भएको बताउँदै उद्धारका लागि प्रहरीलाई आग्रह पनि गरेका थिए । तर, प्रदर्शनकारीको निरन्तरको ढुंगामुढाका कारण प्रहरी त्यहाँ जानै सकेन । अन्ततः पत्रकार रजकले त्यहीँ ज्यान गुमाए ।
यस्तै, ज्यान गुमाउनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेका छन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार तीनकुनेको प्रदर्शनमा घाइते भएपछि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनको घाँटीमा गोली लागेको छ ।
गृह मन्त्रालयले तीनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाईं भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने, ‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले उहाँ नै मूलभूत रूपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।
पूर्वानुमान गर्न नसक्दा मानवीय र भौतिक क्षति
सुरक्षाविज्ञहरूले भने राजावादीहरूको आन्दोलन’दयगत सरकारले पूर्वानुमान गर्न नसक्दा मानवीय र भौतिक क्षति हुन गएको बताएका छन् । सरकारले राजावादीको आन्दोलन यो हदसम्म जाला भन्ने अनुमान नै गर्न नसकेकाले क्षति हुन पुगेको उनीहरूको भनाइ छ । विशेषगरी, प्रसाईंका उग्र व्यवहारलाई नजर अन्दाज गर्दा यो घटना हुन गएको पनि उनीहरूको ठम्याइ छ ।
‘खासगरी राजावादीहरूको चरित्र नै त्यही हो तर सरकारले त्यो अनुमान गर्न सकेन,’ सुरक्षाविज्ञ इन्द्र अधिकारीले भनिन्, ‘’अबगकभ राजनीतिक दल र नागरिक समूहहरूले पछिल्लो समय जसरी आन्दोलन गरिरहेका छन्, उनीहरू अधिकारको मागसहित आफ्नो कर्तव्यबाट पनि च्युत नभएको अवस्था छ ।’
राजनीतिक दलहरूको आन्दोलन संगठित र अनुशासित भएको अवस्थामा राजावादीको आन्दोलन पनि त्यही किसिमको होला भनेर सरकारले अनुमान गरेको तर यसमै चुकेको अधिकारीको तर्क छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने अनुमान गरिएको भन्दा फरक र अराजक घटना हुन गएको बताए । उनले भने, ‘आज ९शुक्रबार० २० वर्षपछि उस्तै घटना भएको छ, निश्चित मिसन भएकाले त्यो लेभलको घटना होला भन्ने अनुमान नभएकै हो, दमकलमाथि आगजनी भएको छ, आगलागी नियन्त्रण गर्न गएको सशस्त्रको गाडी जलाइयो, त्यसैले त्यहाँ समयमै आगलागी नियन्त्रणमा लिन सकिएन, अनुमान गरिएको भन्दा फरक र अराजक भएको हो, भीडचाहिँ ।’
त्यसो त समाजवादी मोर्चाको कार्यक्रम राखेकै दिन १५ चैतकै दिन मेडिकल व्यवसायी प्रसाईंले प्रदर्शन घोषणा गरेपछि सम्भावित घटना हुनसक्ने आकलन नभएको होइन । तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा। धवलशमशेर राणा र स्वयं प्रसाईंले प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएपछि काठमाडौं प्रशासन प्रदर्शन शान्तिपूर्ण हुनेमा निश्चिन्त भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुने क्षेत्रको खाली स्थान उपलब्ध गराएको थियो । तर, राजावादी प्रदर्शन शान्तिपूर्ण भने भएन ।
‘आन्दोलनमा सरकारबाटै घुसपैठ’
राजसंस्था पुनःस्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले भने आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दाबी गरेको छ । समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दाबी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट समेत आत्मरक्षाका लागि प्रतिकार भएको दाबी गरेका छन् ।
‘राजसंस्था पुनःस्थापनाका लागि सुरु भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, निरंकुश र प्रतिगामी सत्ताधारीहरूद्वारा घुसपैठ गराई अशान्त वातावरण सिर्जना गराइएकामा संयुक्त जनआन्दोलन परिचालन समिति निन्दा व्यक्त गर्दछ,’ नेपालले विज्ञप्तिमा भनेका छन् ।
समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको सभामा भन्दा कयौं गुणा बढी मानिसको सहभागी आफूहरूको प्रदर्शनमा भएको दाबी गरेका प्रवक्ता नेपालले त्यसबाट आत्तिएको सत्ताधारी जत्थाका घुसपैठियाहरूले निजी घरभित्रबाट जनसमुदायमाथि प्रहार सुरु गरेको दाबी गरेका छन् ।
‘कार्यक्रमस्थलमा नेतृत्वगण आइपुग्ने समयसमेत नदिई भएको घुसपैठ र दमनबाट उत्पन्न अशान्त वातावरणका लागि निरंकुश सत्ताले जिम्मेवारी लिनुपर्ने हामी प्रस्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते आन्दोलनकारी, प्रहरीहरूको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरूका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सोको प्रबन्ध गर्न पनि अनुरोध गर्दछौं ।’
संयुक्त जनआन्दोलन परिचालन समितिले स्थिति थप भयावह हुने चेतावनी दिँदै तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न आह्वान गरेको छ ।
‘आज ९शुक्रबार०देखि देश संक्रमणकालमा प्रवेश गरेको छ, गणतन्त्र कागजमा मात्र सीमित रहेको छ, यस अवस्थालाई ध्यानमा राखी पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकाले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरूसमेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिनसमेत आह्वान गर्दछौं,’ संयुक्त जनआन्दोलन परिचालन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । राजधानी दैनिकबाट