घोडेजात्रा : दानवी शक्ति परास्त भएको अवसर

प्रकाश रायमाझी । प्राचीन पर्व घोडेजात्राको आफ्नै महत्व छ । यस पर्व काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानीयले आ–आफ्नै किसिमले धुमधामसँग मनाउँछन् । एक मान्यता अनुसार गुरुमापा नामको राक्षसले मानव बस्तीमा गएर दुःख दिने र बालबालिका खाइदिने गर्न थालेपछि त्यसलाई त्रान्त्रिक विधिमार्फत नियन्त्रणमा लिई टुँडिखेलमा लगेर गाडियो । त्यहाँ घोडा दौडाउँदा गुरुमापाको आत्माले निस्केर फेरि दुःख दिन नसक्ने जनविश्वास छ ।
उपत्यकाका नेवार समुदायले यस दिनलाई ‘पाँचरे’का रुपमा पनि मनाउँछन् । यस अन्तर्गत भक्तजनले वटु भद्रकाली अजिमा, कंकेश्वरी अजिमा र लुमन्ती अजिमाको खटलाई काठमाडौँको असन बजार घुमाउँछन् । ’लुकु महाद्यो’को पूजा पनि यसै दिन गरिन्छ । सारमा भन्नुपर्दा स्थानीयलाई दुःख दिने शक्ति पराजित भएको अवसरमा रुपमा जात्रा र भोज गरेर हर्षोल्लासका साथ मनाउने स्थानीय परम्परा छ । उसो त यस दिनलाई घोडेजात्रा भन्ने कि पाँचरे भन्ने विषयमा पनि थुप्रै बहस भएका छन् ।
यद्यपि, कला र संस्कृतिको विकास हुने भनेकै एक–अर्काको अस्तित्वलाई सम्मानका साथ अंगीकार गरेर हो । इतिहासमा काठमाडौँ उपत्यका कला र संस्कृतिमा धनी भएकै एक–अर्काको पहिचानलाई महत्व दिने र तमाम विमतिलाई पन्छाएर विविधताबीचको एकतामा रमाउने गुणका कारण हो ।
घोडेजात्रा र पाँचरे पनि यस्तै अवसर हो । जसले जसरी मनाए पनि यसको अन्तर्य उही मान्यतामा गएर जोडिन्छ । यस अवसरमा नेपाली सेना र नेपाल प्रहरीले टुँडिखेलमा अश्वदौडका साथै विभिन्न कलाकौशल देखाउने परम्परा छ । परापूर्व कालदेखि चल्दै आएको यस परम्परा विगतमा घोडा दौड, अश्वकला प्रदर्शन आदिमा सीमित हुने गरे पनि पछि यसलाई रोचक बनाउन अन्य कलाकौशलको प्रदर्शन पनि थपिएको हो ।
यो किन पनि महत्वपूर्ण छ, भने घोडा दौडाएर दैत्यको आत्मालाई नियन्त्रणमा राख्ने जनविश्वाससँग सेना वा प्रहरीको अश्वकला प्रदर्शनका कारण जनतासँग राज्य जोडिन पुग्छ । अर्को, मनोञ्जनका लागि समेत घोडेजात्रा विशेष पर्व हुने गथ्र्यो । हाल प्रविधि र मनोरञ्जनका साधन प्रचुर मात्रामा उपलब्ध रहेकाले घोडा दौडमा आकर्षण कम देखिए पनि विगतमा टुँडिखेल वरपर यस दिन निकै भीडभाड हुने गथ्र्यो । राजा, प्रजा, सेना, प्रहरी र कर्मचारी एकै ठाउँ भेला भएर एकै पर्वमा रमाउँदा यस पर्वले राष्ट्रिय एकता र मेलमिलापमा उल्लेख्य योगदान दिएको देखिन्छ । यसलाई निरन्तरता दिएकामा नेपाली सेना र नेपाल प्रहरी धन्यवादका पात्र हुन् ।
यस वर्षको घोडेजात्राको दिन कस्तो संयोग परेको छ भने भ्रष्ट राज्यव्यवस्था, अन्याय र लोकतन्त्रको नाममा सीमित मानिसको हालिमुहाली र फरक विचारलाई महत्व र स्थान नदिने र विभिन्न प्रकारका निर्मम प्रहार हुने प्रवृत्तिका विरुद्ध जनता सडकमा उत्रिन लागेका छन् । घोडेजात्रा वा पाँचरे खराब शक्तिमाथि जनताले विजय प्राप्त गरेको दिन हो । यद्यपि, यसको महत्व यतिमा मात्र सीमित छैन ।
एकअर्काको अस्तित्वलाई स्वीकार गर्ने र एकताका माध्यमले खराब शक्तिलाई परास्त गर्ने यस पर्वको मूल मर्म हो । आशा गरौँ, यस पर्वले सबैलाई सद्बुद्धि प्रदान गर्नेछ र फुटेर होइन जुटेर विजय र सफलता हासिल गर्न सकिन्छ भन्ने नेपाली समाजको मान्यताले सार्थकता पाउनेछ । सबैलाई शुभकामना ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)