११ चैत्र २०८१, मंगलबार | March 25, 2025

हामी भावनात्मक ढंगले चल्नु हुँदैन् : प्रधानमन्त्री ओली


332
Shares

काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ ।  राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उहाँले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।

हामीले थुप्रै मेडिकल कलेजहरु बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नु हुँदैन, अहिले जति पनि समस्याहरु छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागीता थियो । उनीहरुले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रुपमा प्रतिवेदन ल्याउन आग्रह गर्नुभयो । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया