१२ चैत्र २०८१, बुधबार | March 26, 2025

देश ठग र बिचौलियाकै मात्र हो ?


2.7k
Shares

लक्ष्मीप्रसाद न्यौपानेः देश वैचारिक खडेरीले आक्रान्त छ । मनभन्दा धन ठूलो छ अहिले । विचार भन्दा बाहुबलीको दबदबा छ । धर्मभन्दा अधर्मको प्रभाव बढिरहेछ । सत्यलाई असत्यको कालो बादलले ढाँक्न खोज्दैछ । मातृभूमिभन्दा अर्काको भूमि प्रीय देखाउन खोजिदैछ । देशमा निराशाले त्राहीमाम मच्चाइरहेछ । तैपनि, आशाका किरणहरु अन्धकार चिर्दै छिर्न खोज्दैछन् । पक्कै त्यो दिन आउनेछ जब सत्यको जीत हुनेछ । धर्मले अधर्मलाई परास्त गर्नेछ । मातृभूमिको शीर उचो बनाउने पुस्ताले देशलाई हराभरा पार्नेछ । सही विचार र संस्कारले समाजलाई बलियो बनाउनेछ । तर, त्यसका लागि ठूलो संघर्षको जरुरी छ । देशका होनहार व्यक्तित्वहरु एकढिक्का भएर त्यो संघर्षमा होमिनुपर्नेछ । विचारले बाहुबलीलाई पराजित गर्न सक्नुपर्नेछ ।

अहिले देशमा नैतिकता, इमान्दारिता, निष्ठा, र कर्तव्यनिष्टको धज्जी उडाइँदैछ । सम्मानको मापदण्ड नैतिक, मूल्य मान्यता, सत्यनिष्ठा, त्याग तपस्या र योगदान बनिरहेको छैन । जोसँग धन र बल छ उही सम्मानको भोक मेटिरहेछ । जता हेर्यो उही व्यक्ति सम्मानित भइरहेछ । चाहे त्यो व्यक्ति त्यो सम्मानको योग्य होस् या नहोस् । सम्मान गर्न लायक भएको व्यक्ति लुकेको प्रतिभा बनिरहेछ । सम्मान गर्न लायक नभएको सम्मान थाप्दै दुनियाँसामु हल्ला मच्चाउँदै हिंडिरहेछ । यसले समाजमा गहिरोगरी समस्याको खाडलहरु बनिरहेको छ । वर्तमानको नेपालमा सत्यको मूल्य खस्किँदै गएको छ, इमान्दारहरूको अस्तित्व उपेक्षित छ, र दलाल प्रवृत्तिहरू नै उन्नतिको आधार बनिरहेका छन्। जसले साँचो अर्थमा समाजका लागि योगदान गर्छ, उनीहरू समस्यामा पारिएका छन् । उठ्नै नसक्ने गरी थिचिएका छन् अनि मिचिएका छन् । चाकडीप्रथा झन् मौलाएको छ । मानवशास्त्र डोरबहादुर बिष्टले चाकडीप्रथाका बारेमा त्यसै अध्ययन गरी कृति प्रकाशित गरेका होइनन् । चाकडीप्रथा नेपाली समाजको रोग भइसकेको छ । त्यस्तो रोग जुन समाजको प्रगतिको बाधक हो । त्यस्तो रोग जस्ले गलत व्यक्तिलाई महत्वपूर्ण ठाउँमा पुर्याउँछ । सही व्यक्ति सही ठाउँमा पुग्न सकिरहेको छैन । कसैको नियुक्ति, पुरस्कृत हुने र सम्मान पाउने मापदण्ड नै चाकडी चाप्लुसी बनिरहेको छ । जसले चाकडी गर्न जान्छ, तिनीहरू प्रतिष्ठा, पुरस्कार, र सत्ताको वरिपरि घुमिरहेका छन्।

देशमा पुरस्कार र सम्मानका सस्ता बजारहरु खुलेका छन् । पुरस्कृत व्यक्तिको रोलक्रम पहिल्यै तय हुन थालिसकेको छ । कतिपय पुरस्कार पैसाको बलमा दिने गरिन्छ । जसको लाठी उसको भैंसी जस्तै परिस्थिति सृजना गरिएको छ । आज पैसा र प्रभावमा चल्ने सम्मानहरूको बजार खुलेको छ। जसको कुनै नैतिक धरातल छैन, ऊ नै शक्तिकेन्द्रहरूसँग नजिकिन्छ, ऊ नै पुरस्कार र अवसरको हकदार ठहरिन्छ। अनि देश बनेन भनेर बहस गर्नुको कुनै तुक हुँदैन ।

बुद्धिजीवी वर्ग निरिह जस्तै छ । मौनता छ धेरैमा । बोलेर र विरोध गरेर के पो हुन्छ भन्ने मानसिकता हावी छ । कतिपय बुद्धिजीवी पैसा र पदका सामु निरिह बन्दै गएका छन् । त्यागको बल कमैमा मात्र छ । नैतिक र वैचारिक बल पनि कमैमा छ । यसको लाभ धनवान र बलवानहरुले लिइरहेका छन् । धनवान र बलवानहरु नेतृत्वदायी निकायमा पुगिरहेका छन् । उनीहरुकै बोलवाला छ जताततै ।
देखावटी धेरै चलिरहेको छ बजारमा । नेता, उच्च कर्मचारी वा शक्तिशाली व्यक्तिसँग तस्बिर खिचाएर ठगी खाने भाँडो बनाउनेको बिगबिगी छ । सोझा मान्छेलाई तस्बिर देखाएर झुक्याउने र ठग्ने परिपाठी व्याप्त छ । यो या त्यो व्यक्तिसँग निकटता देखाउने र अरुलाई शान देखाएर ठग्नेहरु हावी भइरहेका छन् । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा जस्ता नेतासँग जोडिएको तस्बिर देखाएर ठगी खाने सम्म फेला परे । यतिसम्मकी फलानो नेताको मान्छे फलाने पुलिसको नातेदार भन्दै ठग्नेहरु पनि भेटिए । बिचौलियाको उत्तिकै बिगबिगी चलेको छ ।

मौन बुद्धिजिवी, विवेकशील भनिनेहरूको अवसरवादी व्यवहार, र स्वाभिमानका पहरेदारहरूको उपेक्षाले समाज भित्रभित्रै खोक्रो बन्दैछ। इमान्दारिता र निष्ठाको व्यापार हुन थालेपछि, विचारहरू पनि नाफा९नोक्सानको आधारमा तौलिन थालेका छन्। जो धन, शक्ति, वा प्रभावस्रोतसँग जोडिन सक्दैन, उसको सत्य पनि सुनिँदैन, उसको अस्तित्व पनि स्वीकारिँदैन। यो हदसम्म समाज खोक्रिएपछि संकट गहिरिने नै भयो । देश यसकारण पनि सही दिशामा छैन भन्ने बुझ्न सकिन्छ ।

राजनीतिक व्यवस्थालाई दोषी देखाउनेहरु धेरै भेटिन्छन् । नाँच्न जान्दैन आँगन टेडो । यो भएन त्यो हुन्छ कि । त्यो भएन यो हुन्छ कि । यसो भन्दा भन्दै देशले दशकौं बिताइसकेको छ । मूल समस्या कहाँ छ र के कारणले यस्तो भयो रु कमैमात्र विमर्श भइरहेको छ । कसरी अवस्था बदल्ने र के के समस्या छन् पहिचान गरी समाधान गर्ने । त्यसतर्फ जानैपर्छ । दोष देखाउनेभन्दा पनि अब अवस्थाको सुदृढीकरण आवश्यक छ। खराबहरु एक हुनसक्ने असलहरु किन नसक्ने र ? देश बनाउने हो भने असलहरु एकजुट हुनैपर्छ । समाजमा असलहरुको संख्या बहुमत छ । सानो झुण्डमा छन् खराबहरु । तर, असलहरु छिन्नभिन्न छन् खराबहरु एकढिक्का छन् । सानो संख्यामा एकढिक्का भएका खराबहरुलाई परास्त गर्न कठिन छैन जब असलहरु एकजुट भए । इमान्दार, निष्ठावान्, सत्यनिष्ठ र कर्मशील व्यक्तिहरू एकजुट हुनुपर्छ। अब मौनता तोडेर सत्यको पक्षमा उभिने समय आएको छ। समाज पुनर्निर्माणको मार्गमा असलहरूको ऐक्यबद्धता नै सबभन्दा ठूलो संकल्प बन्नुपर्छ। अब बहस व्यवस्थाको होइन, असलहरूको शक्ति निर्माणको हुनुपर्छ।

नेपालीहरुले अब निर्णय गर्नुपर्छ सत्यलाई मौन राख्ने कि सत्यका पहरेदारहरूलाई अघि सार्ने ? किनभने जबसम्म असलहरू मौन रहन्छन्, तबसम्म खराबहरूको राज्य चलिरहन्छ। देश यथास्थितिमा रहन सक्दैन । अति भइसक्यो खराबहरुको ताण्डव । अब त्यसको अन्तका लागि असल नेपालीहरु एकजुट हुनैपर्छ । यसैमा देश र समाजको भलो छ ।

प्रतिक्रिया