३ चैत्र २०८१, सोमबार | March 18, 2025

एमालेनिकट स्थानीय तह कर्मचारी संघको सचिवालयको बैठक सम्पन्न


249
Shares

काठमाडौं, चैत्र ४ । नेकपा एमालेनिकट स्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालयको बैठक हालै सम्पन्न भएको छ । संघका महासचिव शम्भु बरालका अनुसार सचिवालय बैठकले संघको हिजोका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे पनि छलफल गरेको बताए ।

संघको केन्द्रीय कार्यालय राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा संघका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा र संघका पूर्वअध्यक्षसमेत रहेका इन्चार्ज हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धेरैजसोले कर्मचारीमाथि भइरहेको विभेदका साथै सरकारले बनाएको र बनाउँदै गरेको नीति, नियमको बारेमा धारणा राखेका थिए । ‘हामीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएकामा हामीलाई चिन्ता लागेको छ, संस्थागत रुपमा नै हाम्रो हकहितका लागि आवाज उठाउनुपर्ने बेला भएको छ ’ अध्यक्ष शर्माले भने । २०८० साल माघका यो समिति निर्वाचित भएर आएको हो । ‘हामीलाई परेका समस्याको बारेमा कहिले सामूहिक रुपमा त कहिले सरोकारवाला व्यक्ति भेट्दा राखिरहेका छौं, कर्मचारीलाई उत्साहित गर्ने प्रकारका कार्यक्रम ल्याउँदा सरकार बलियो हुन्छ भनें कर्मचारी पनि उत्प्रेरित हुन्छन्’ महासचिव बरालले भने ।

सचिवालय बैठकमा नै संघले दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा सञ्चालन गरेको उपहार कुपनको पुरस्कार पनि वितरण गरिएको छ । गत पौष १५ गते पत्रकारको उपस्थितिमा ‘कम्प्युटराइज्ड’ माध्यमबाट छरितो विधिबाट बिजेता घोषणा गरिएको थियो । उपहार कुपन नतिजालाई ७ वर्गमा विभाजन गरिएको महासचिव बरालले बताए ।

१५ हजार थान कुपन वितरण भएको उपहार कुपन कार्यक्रमकी संयोजक तथा संस्थाकी उपाध्यक्ष जानुका श्रेष्ठले बताइन् । प्रथम बिजेताले इलेक्ट्रिक स्कुटर, द्धितीय हुने २ जनाले ल्यापटप, तेस्रो हुने तीन जनाले स्मार्ट फोन, चौथो हुने चार जनाले जुस मिक्स्चर, पाँचौं हुने पाँच जनाले भ्याकुम क्लिनर, छैंटो हुने ६ जनाले इलेक्ट्रिक आइरन उपहार पाएका छन् । त्यस्तै सातौं बिजेताको रुपमा सान्त्वनास्वरुप ३० जनाले इलेक्ट्रिक जग उपहार पाएका छन् ।

‘राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, संघीयतामा अधिकारसम्पन्न संवैधानिक स्थानीय सरकार’ भन्ने मूलनाराका साथ संघको स्थापना भएको हो । संस्थाले आफूसँग सरोकार रहेको विविध विषयमा पटक पटक अन्तरक्रिया तथा छलफलसमेत गर्दै आएको छ ।

प्रतिक्रिया