मारवाडी सेवा समितिले गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुल्यो

काठमाडौं,२३ फागुन। मारवाडी सेवा समितिलाई पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको छ । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला सम्बन्धमा काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता रद्ध गर्न आदेश दिएसँगै मारवाडी सेवा समितिलाई धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको हो ।
बुधबार न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश गरेको हो । गत असोज २२ गते पशुपति गौशाला सञ्चालन र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको थियो । कोषले एकतर्फी रूपमा मारवाडी सेवा समितिसँग भएको पुरानो सम्झौता भंग गरेको थियो ।
सो सम्झौतापछि महानगरले धर्मशाला सञ्चालन गरिरहेको समितिलाई हटाउन खोजेको थियो । समितिले महानगरको यस कदमविरुद्ध उच्च अदालत पाटनमा रिट हालेको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्चले कात्तिक २ गते अन्तरिम आदेश दिएको थियो । बुधबार सोही रिटमाथि सुनुवाइ गर्दै धर्मशाला सञ्चालन पुरानो सम्झौताअनुसार मारवाडी सेवा समितिले नै गर्न पाउने आदेश दिएको हो ।
उच्च अदालत पाटनको सो आदेश आएसँगै मारवाडी सेवा समिति नेपालका महासचिव धर्मेन्द्र अग्रवालले प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफूहरूले उच्च अदालत पाटनले न्याय दिएको र त्यस्तो कठिन समयमा न्यायका लागि उभिने बु्द्धिजीवी, सेवाग्राही, पत्रकार, नागरिक समाज, सुरक्षाकर्मी, स्थानीय प्रशासनबाट सहयोग पाएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । समाचारपत्र