दूरसञ्चार प्राधिकरणका भूपेन्द्र भण्डारी यसकारण निष्कृय

काठमाडौं, १६ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्ति कुनै खास उद्देश्यले भएको थियो । टेलिकम माफियासँग पुरानै साँठगाँठ रहेका उनलाई प्राधिकरणमा ल्याउनुमा एनसेलको शेयर विक्रीको विवाद र कर छली प्रकरण सामसुम पार्ने उद्देश्य नै थियो । त्यस अनुसार उनले काम पनि गर्दै आएका छन् ।
भण्डारी आएपछि एनसेलको कर छली, विदेशमा शेयर खरिद विक्रीको विवादमा छानविनमा माखो मरेको छैन । उनी स्वार्थी समूहको रिमोट बनेर काम गर्छन् । माओवादी नेताहरुसँग नजिक रहेका उनी एमाले नेतृत्वको सरकार आएपछि त्रसित पनि छन् । एमाले उनलाई हटाउन चाहन्छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ उनलाई हटाउने उपाय खोजिरहेका छन् ।
प्राधिकरणका दर्जन कर्मचारी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदमा अनियमितताको आरोपमा अख्तियारले मुद्दा दायर गरेकाले निलम्बनमा छन् । टेरामक्स प्रकरणमा प्राधिकरणका धेरै कर्मचारीको नाम जोडिएको छ । उनीहरु पनि त्रसित छन् । नयाँ काम गर्न प्राधिकरणका कर्मचारी थरहरी छन् ।
नियामक निकाय दूरसञ्चार प्राधिकरण आफै निरिह बनेकाले नियमनकारी कार्य हुन सकिरहेको छैन । एनसेलको गलत गतिविधिमा आँखा चिम्म पारेर बसेको छ ।
विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनी, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु गरी १ खर्ब भन्दा बढी बजार हिस्सा रहेका कम्पनीहरुको नियमन प्राधिकरणले गर्छ । जसमा हरेक वर्ष इन्टरनेट वा नेटवर्क सेवा प्रदायकहरुको २० अर्बभन्दा बढी र दूरसञ्चार सेवा प्रदायकहरुको एक खर्बभन्दा बढी हिस्सा छ । यति ठूलो कारोबार गर्ने कम्पनीहरुको नियमन गर्ने कम्पनी आफै निरिह छ ।