हर्क साम्पाङको पालिकामा इशाई धर्म प्रचारको गिरोह रँगेहात पक्राउ

काठमाडौं, २५ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि इशाई धर्मका गतिविधि बढावा दिन खोजेको आरोप लाग्दै आएको छ । उनका गतिविधि हिन्दूविरोधी देखिएका छन् । यो आरोप पुष्टि हुने गरी उनको क्षेत्रमा विदेशीहरुसहितको ठूलो गिरोह इशाई धर्म प्रचारमा सक्रिय रहेको पत्ता लागेको छ ।
धर्म प्रचारमा अमेरिकीहरुको समूह नै भेटिएको छ । पर्यटक भीसामा आएर श्रमदानको आवरणमा धर्म प्रचारमा संलग्न १७ अमेरिकी र एक भारतीय धरानबाट पक्राउ परेका छन् ।
धरानको देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भबन निर्माणमा श्रमदानको नाममा उनीहरुलाई धर्म प्रचार गरिरहँदा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा अमेरिकी नागरिक रयान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स, म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक डरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्डु कार्टर जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो कुनियर, केनेथे डेभिड ग्रे र जेम्स रे मर्फी थर्ड र भारतका वसन्त लामा छन् ।
२२ माघमा धर्म प्रचारका लागि धरान पुगेका उनीहरुलाई प्रशासनले निगरानीमा राखेको थियो । धर्म प्रचारमा सप्रमाण संलग्न भएको पाइएपछि पक्राउ गरी अध्यागमन विभाग पठाइएको छ । नेपालमा धर्म प्रचार गैरकानूनी छ । तर, कानूनको खिल्ली उडाउँदै धर्म प्रचार बढिरहेको छ ।