२३ माघ २०८१, बुधबार | February 5, 2025

नेतृत्वको अभिमानले आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ : गूरुराज घिमिरे


February 5, 2025
581
Shares

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसको युवा नेता गुरुराज घिमिरेले पार्टीको पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमले परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिश गरेको टिप्पणी गरेका छन् । यस्ता अभ्यासले पार्टी नेतृत्वको अभिमानलाई झल्काउने र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति, जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएपछि नेता घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रम राम्रो हुँदाहुदै पनि केही कुरा उदेकलाग्दो देखिएको घिमिरेले बताएका छन् । “यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ । यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियोे। यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ ।”–उनले लेखेका छन् ।

उनले पार्टीभित्र पद ओगटेका दुई–चार व्यक्ति मात्र नभएको भन्दै कांग्रेसको ८ लाख ६० हजार कृयाशिल सदस्य भएको पनि उल्लेख गरेका छन् । नेतृत्वले आफ्ना प्रतिस्पर्धीलाई पनि संगसंगै लैजानुपर्नेमा जोड दिंदै उनी भन्छन्,“पार्टी भित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो ।” पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्नु निकै गलत भएको उनको ठहर छ ।
र यसबारे जिम्मेवार व्यक्तिहरु पनि नबोलेको भन्दै उनले गुनासो पोखेका छन् । “आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाई भएको छ ।”

 

प्रतिक्रिया