झण्डै युद्ध गरेका भारत-चीन किन मिले
समाचार विश्लेषण । युद्धको अवस्थामा पुगिसकेका थिए भारत र चीन । दोख्लाममा सन् २०१७ मा भएको गतिरोध र २०२० मा गलवानमा सैनिकबीचको झडप र हताहतीले दुवै देश युद्धको अवस्थामा पुगेका थिए । युद्ध त हुन पाएन तर सम्बन्ध चिसियो । भारत र चीनबीच सीमा जोडिएपनि दूरी बढ्यो । सिधा उडान बन्द भए । व्यापारमा असर पर्यो ।
२०२४ मा रुसको काजानमा भएको ब्रिक्स सम्मेलनका दौरान मोदी र सी चिनफिङबीच भेटवार्ता भयो । पाँच वर्षपछि दुई नेताले प्रत्यक्ष भेटेर हातेमालो गरे । भेट अघि नै दुवै देशको संयुक्त विज्ञप्ति आयो सुमधुर सम्बन्ध बनाउने गरी । सीमाको गतिरोध अन्तको सहमति पनि भयो ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल यसै वर्षको सुरुमा बेइजिङ पुगेर चिनियाँ विदेशमन्त्री वाङ ईसँग महत्वपूर्ण भेटवार्ता गरे । गतिरोध अन्तको सन्देश थियो त्यो ।
भेटको सिलसिला बाक्लियो । भारतका विदेशसचिव विक्रम मिस्री बेइजिङ पुगे यसै हप्ता । उनको भेटसँग रोक्किएको सिधा उडान सुचारु गर्ने सहमति भयो । भारतको मार्गबाट मानसरोवर सिधा जाने मार्ग पनि खुलाउने सहमति बनिसकेको छ । यसैवर्षको गर्मी मौसममा त्यो मार्ग चलाइने उल्लेख छ ।
सँसारकै बढी जनसंख्या भएको भारत र दोस्रो बढी जनसंख्या भएको चीन उदीयमान शक्ति पनि हुन् । एशियाका यी दुई शक्तिबीचको सुदृढ हुँदै गएको सम्बन्धले विश्व राजनीतिमा असर गर्न सक्छ ।
दक्षिण एशियाको राजनीतिमा भारत र चीनको गतिरोधले असर गरेको थियो । यी दुईबीचको द्वन्द्वमा अन्य शक्तिहरुले क्षेत्रीय राजनीतिमा प्रभाव बढाइरहेका थिए । जसका कारण कतिपय देशमा सत्ता पलटका घटना नै घटे । यही कारण पनि भारत र चीन पछिल्लो समय गतिरोध अन्तको सहमतिमा पुगेको विश्लेषण भइरहेको छ ।
भारत र चीनको सुदृढ सम्बन्धको असर नेपालमा पनि पर्न थालेको छ । यी दुई देशबीचको गतिरोधबाट फाइदा लिनखोज्ने शक्तिसँग जोडिएकाहरुको चलखेल फितलो हन थालेको छ नेपालमा ।
अर्कोतर्फ, लगानीको वातावरण पनि बन्ने अवस्था विकास हुनसक्छ अब । नेपालमा कि त नेपालीको कि त भारत या चीनबाट लगानीको मुख्य सम्भावना छ । त्यसका लागि पनि नेपालको दुई छिमेकी भारत र चीनबीचको सम्बन्धले निकै असर गर्छ ।