घरजग्गा मूल्यांकन प्रणाली विकासको लागि सरोकारवालाहरुसँग मन्त्रालयको छलफल
काठमाडौं,११ माघ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले भौगोलिक सूचना प्रणालीमा आधारित घरजग्गा मूल्यांकन प्रणाली विकासको लागि सरोकारवालाहरुसँग प्रारम्भिक छलफल तथा अन्तक्रिया गरेको छ । मन्त्रालयले शुक्रबार राजधानीको एक होटलमा उक्त प्रारम्भिक छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथि रहेका सो अन्तक्रिया कार्यक्रमको सचिव अर्जुनप्रसाद पोखरेल विशेष अतिथि थिए । मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने मन्त्री अधिकारी र सचिव पोखरेलले निर्देशनसहितको मन्तव्य राखेका थिए ।
मन्त्रालयको तर्फबाट प्रमुख नापी अधिकृत हरिशरण नेपालले प्रस्तुतिकरण दिएका थिए । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)को तर्फबाट पनि उपाध्यक्ष ई. दिनेशकुमार पाठकले प्रस्तुतिकरण दिएका थिए ।
मन्त्रालयको तर्फबाट प्रस्तुतिकरण दिने क्रममा प्रमुख नापी अधिकृत नेपालले जग्गाको वैज्ञानिककरण हिसाबले मुल्यांकन र वर्गिकरण कसरी गर्न सकिन्छ भन्नेबारे विशेष जोड दिएका थिए । त्यसैगरी एनभिएका तर्फबाट प्रस्तुतिकरण दिैंदै ई. पाठकले घरजग्गाको मुल्य स्थिर नहुने, चलायमान भइरहने भएकोले धेरै कुराले असर गर्ने बताए । यसका लागि छुट्टै विशिष्ट ज्ञानको आवश्यकता पर्ने हुनाले सो कार्य मुल्यांकनकर्ताले मात्र गर्न सक्ने पनि प्रस्तुतिकरणको क्रममा धारणा राखेका थिए । उनले एनभिएले मुल्यांकन गर्न डाटाबेस सिस्टमको सुरुवात गरेको जानकारी दिंदै त्यसमा मन्त्रालय र बैंकहरुको पनि सहयोगको अपेक्षा राखेको सुनाए । “मुल्यांकन गर्न एनभिएले आफ्नो डाटाबेस सिस्टम सुरुवात गरेको छ, डाटाबेस सिस्टमलाई मन्त्रालय र बैंकहरुले सहयोग गरिदिए आगामी दिनमा अध्ययन गर्न, मुल्यमा हुने गलत प्रवृतिका कुरा न्यनिकरण गर्न लगायतमा सहयोग पुग्ने थियो ।”–उपाध्यक्ष ई. पाठकले भने ।
छलफल तथा अन्तक्र्रियाको संक्षेपीकरण उपसचिव संजीवन श्रेष्ठले गरेका थिए भने कार्यक्रमको समापन सहसचिव गणेशप्रसाद भट्टले गरेका थिए । कार्यक्रमको सञ्चालन सुदर्शन कुमार गौतमले गरेका थिए ।
नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)को तर्फबाट उपाध्यक्ष ई. पाठकसहित वरिष्ठ उपाध्यक्ष ई .मुक्ति पाण्डे र कोषाध्यक्ष ई. सन्देश श्रेष्ठ पनि कार्यक्रममा सहभागी जनाएका थिए ।