११ माघ २०८१, शुक्रबार | January 24, 2025

ट्रम्पको आप्रवासन नीतिको असरः ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली स्वदेश फर्काइँदै


January 24, 2025
83
Shares

काठमाडौं,११ शुक्रबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।

गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू अमेरिकी राष्ट्रपति ट्रम्पको यस नीतिको मारमा पर्ने भएका हुन् । ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

नेपयोर्कका अनुसार स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली २४ जुन २०१५ पछि अमेरिका पुगेकाहरू रहेका छन् । अमेरिकाले पछिल्लो ४ वर्षमा १ सय ३ नेपालीलाई फर्काइसकेको छ । सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र सन् २०२४ मा १६ नेपालीलाई नेपाल फर्काएको थियो । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।

अध्यागमन तथा भन्सार प्रवर्तन ९आईसीई०ले जारी गरेको तथ्यांकअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भए पनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् ।

तिनीहरूसँग अस्थायी संरक्षित स्थिति ९टीपीएस० वा अन्य कुनै कानुनी सुरक्षा नभएकाले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।

गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

भारतले अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशंकरले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताएका हुन् ।

ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि मंगलबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले यस्तो टिप्पणी गरेका हुन् ।

जयशंकरले नयाँदिल्ली कागजातविहीन भारतीयहरूलाई फिर्ता लिन तयार रहेको र संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारतमा निर्वासित गर्न सकिनेहरूको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताए ।

‘भारतीय प्रतिभा र कौशलले विश्वव्यापी स्तरमा अधिकतम अवसर पाऊन् भन्ने हामी चाहन्छौं, हामी अवैध आवागमन र अवैध आप्रवासनको पनि कडा विरोध गर्छौं,’ जयशंकरले बुधबार वासिङ्टनमा भारतीय पत्रकारहरूको एक समूहसँग भने, ‘हामीले जहिले पनि यो दृष्टिकोण लिएका छौं कि अमेरिकासहित विश्वका हरेक देशमा हाम्रा कोही पनि नागरिक अवैध रूपमा छन् र ती हाम्रा नागरिक हुन् भने हामी सधैं उनीहरूको वैध भारत फिर्तीका लागि खुला छौं ।’

ट्रम्प प्रशासनसँग मिलेर १८ हजार भारतीयलाई देश निकाला गर्न भारतले काम गरिरहेको भन्ने समाचारको जवाफमा जयशंकरले यस्तो बताएका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले मंगलबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री रुबियोले भारतसँग मिलेर आर्थिक सम्बन्ध अघि बढाउन र अनियमित आप्रवासनसँग सम्बन्धित चिन्तालाई सम्बोधन गर्न ट्रम्प प्रशासनको इच्छामा जोड दिनुभएको छ ।’

भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो र यसले विश्वको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० वृद्धिको आनन्द उठाइरहेको छ तर लाखौं भारतीय अझै पनि राम्रो अवसरको खोजीमा हरेक वर्ष बिदेसिने गरेका छन् । यसको डायस्पोरा विश्वभरि फैलिएको छ भने संयुक्त राज्य अमेरिका छनोटको प्रमुख गन्तव्य हो ।

पछिल्लो अमेरिकी जनगणनाअनुसार सन् २०२० को दशकमा भारतीय मूलका अमेरिकीको जनसंख्या ५० प्रतिशतले बढेर ४८ लाख पुगेको छ भने सन् २०२२ मा विदेशमा अध्ययनरत करिब १३ लाख भारतीय विद्यार्थीमध्ये एक तिहाइभन्दा बढी संयुक्त राज्य अमेरिकामा थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया