‘जसको नीति उसैको नेतृत्व’नारासहित चुनाबी मैदानमा उत्रिए बन्दीपुरका सुदिन पौडेल
काठमाडौं,९ माघ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी) को अध्यक्ष पदका लागि बन्दिपुरका सुदिन पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेश अखिल (क्रान्तिकारी) का अध्यक्ष समेत रहेका पौडेलले अनलाइनमार्फत मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेलसँगै पदेश यादव,हेमन्त राई, तिर्सना हमाल, विजय सापकोटा, विश्वमणि थापा, योगेन्द्र बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
पौडेलले ‘जसको नीति उसैको नेतृत्व’ मुल नाराका साथ चुनाबी मैदानमा उत्रिएका छन् । नेपाली पेनसँग कुरा गर्दै उनले भने,“अखिल (क्रान्तिकारी)लाई फेरी सडकको बाघ बनाउन,भ्रष्टाचार,व्यतिथिविरुद्ध संघर्ष गर्न,सरकारका गलत कामको बिरोध र खबरदारी गर्ने सडकको प्रतिपक्षी भुमिका निर्वाह गर्न,स्वबियु चुनावबाट पहिलो संगठन बनाउन,उमेर हदको निर्णयलाई कार्यान्वयन गर्न, विद्यार्थीका हक हितका लागि मेरो उम्मेदवारी हो ।”
अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लगाइएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै निवर्तमान उपमहासचिव हुन् । संगठनको ३३ पदाधिकारीसहित २ सय ४३ सदस्यीय कमिटीका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । निर्वतमान पदाधिकारीमध्ये ४१ जना निर्वाचनमा भाग लिन पाउने भएपनि १ सय १८ पदाधिकारीले भने उमेर हदका कारण निर्वाचन प्रक्रियामा भाग लिन पाउने छैनन् । लामो समय अखिल (क्रान्तिकारी) मार्फत विद्यार्थी राजनीतिमा सक्रिय पौडेल उपमहासचिव वर्षमान पुन निकट मानिन्छन् । उनलाई पुनलगायतका केन्द्रीय नेताहरुको समर्थन रहेको बुझिएको छ ।
प्रतिस्पर्धिमध्ये सापकोटा प्रचण्ड निकट रहेको र उनलाई शक्ति बस्नेत, हिमाल शर्मा र पञ्चा सिंहको समेत समर्थन रहेको बुझिएको छ । उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त किराँती राईलाई शर्माको आशिर्वाद रहेको पाइएको छ । राई कोशी प्रदेशका अध्यक्ष हुन् ।