लमजुङको मंगला माविले माघ १०–१६ गतेसम्म हिरकजयन्ती मनाउने
काठमाडौं,१ माघ । लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतिपसलस्थित मंगला माध्यमिक विद्यालयले भव्यताका साथ हिरकजयन्ती मनाउने भएको छ । आगामी माघ १०–१६ गतेसम्म हुने सो विशेष कार्यक्रमबारे औपचारिक रुपमा जानकारी दिन आज विद्यालयको पूर्व विद्यार्थीहरुको भेटघाट कार्यक्रमको आयोजना काठमाडौंमा गरिएको हो ।
मंगला मावि पूर्व विद्यार्थी समाज काठमाडौं क्लस्टरले आयोजना गरेको सो कार्यक्रमको आवरण प्रकाशनका प्रमुख एंव साहित्यकार रमेश पौडेलले संयोजन गरेका थिए ।
काठमाडौं क्लस्टरका अध्यक्ष श्रीकृष्ण पौडेलको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि सो विद्यालयका प्रधानध्यापक (प्र.अ) विष्णुहरी बास्तोला रहेका थिए भने विशेष अतिथि मंगला मावि व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौला थिए ।
प्रधानध्यापक बास्तोलाले विद्यालयले पूर्व विद्यार्थीबाट संकलित रकमबाट हिरकजयन्ती मनाउन लागेको जानकारी दिए । उनले सो कार्यक्रममा स्कुलको एक रुपैयाँ पनि प्रयोग नगरिने स्पष्ट पारे । हिरक जयन्तीमा संकलन भएर बाँकी रहेको रकम कोषमा राखि भविष्यमागरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा प्रयोग गरिने समेत बताए ।
सम्पुर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई उत्सवलाई महत्वपुर्ण चाडको रुपमा लिइ हिरकजयन्ती मनाउन पनि आग्रह गरे । बास्तोलाले मंगला मावि लमजुङमा मात्र नभएर गण्डकी प्रदेशमै पनि नमुना विद्यालयको रुपमा रहेको बताए ।
त्यसैगरी, उनले माघ १० गतेदेखि हुने हिरकजयन्तीको औपचारिक उद्घाटन भने ११ गते नेपाल सरकारका संञ्चारमन्त्री एंव प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गर्ने र १६ गते कार्यक्रमको समापनमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने पनि जानकारी दिए । प्र.अ बास्तोलाले अन्य दिनमा प्रदेश सांसद भेषबहादुर पौडेल, डा.टकराज गुरुङ, मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे, ब्यास नगरपालिका तनहुँका मेयर बैकुण्ठ न्यौपाने लगायत प्रमुख अतिथि रहने र भिन्न–भिन्न कार्यक्रमको आयोजना गरिएको समेत बताए ।
यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाले हिरकजयन्ती मनाउनकै लागि विभिन्न २७ वटा उपसमिति गठन गरिएको जानकारी दिए । आर्थिक संकलन, प्रचारप्रसार एंव मिडिया, पाहुना सत्कार, अतिथि व्यवस्थापनलगायत गरि सबैलाई जिम्मेवारी बाँडफाँट गरिएको भन्दै सोही अनुसार सबैले काम गर्ने पनि बसौलाले विश्वास व्यक्त गरे ।
त्यसैगरी, आर्थिक संकलन उपसमितिका संयोजक शमशेर बहादुर थापाले हालसम्म ४२ लाख रुपैयाँ संकलन भइसकेको र ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको सुनाए । हिरकजयन्तीमा कुल ४५–५० लाख सम्म खर्च हुने उनले आँकलन गरे । माघ १० गतेसम्म रु २ हजार ५ सय भन्दा बढी रकम दिने दाताहरुको नामवली स्मारिकामा प्रकाशन गर्ने र सोही दिनसम्म ११ हजार रुपैयाँ भन्दा बढी दिनेको नामावली हिरक स्तम्भमा समेत शिलालेखमा राखिने जानकारी दिए । थापाले दम्पत्तिको नामावली राख्न २१ हजार, परिवारका ५ जना सम्म सदस्यको नाम राख्न ५१ हजार र परिवारका सबै सदस्यको नाम शिलालेखमा राख्नका लागि १ लाख भन्दा बढी रकम दान दिनुपर्ने पनि बताए ।
काठमाडौं क्लस्टरका सल्लाहाकार ई. रबिन्द्र अधिकारीले मंगला माबि हिजोका दिनमा पनि नमुना विद्यायलको रुपमा रहेको र आज पनि स्कुलको शैक्षिक स्तर नखस्किएको बताउदै उक्त विद्यालय रिस्ती उपत्यकामा मात्र नभएर गण्डकी प्रदेशकै नमुना विद्यालयको रुपमा रहेको बताए ।
भेटघाट कार्यक्रममा मंगला माविका पूर्व विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सोती, केन्द्रीय सचिव ई. हरिदत्त पौडेल,शिक्षक तिर्थराज तिवारी,विज्ञापन संकलन उपसमितिका संयोजक दुवराज सोतीलगायत १०० जना भन्दा बढी पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम कल्स्टरका सचिब कृष्णचन्द्र लम्सालले सञ्चालन गरेका थिए ।
वि.स. २०१९ सालमा स्थापना भएको मंगला माबिबाट हालसम्म २१ सय भन्दा बढी विद्यार्थीले एसएलसी/एसईई पास गरेका छन् भने ११ सय भन्दा बढीले प्लस टु उत्तिर्ण गरेका छन् । सो विद्यालयले प्राविधिक धारतर्फ डिप्लोमा इन्जिनियरिङको पढाइसमेत समेत सञ्चालन गर्दै आइरहेको छ ।