घाटाका कम्पनीलाई नाफा देखाएर आइपीओ अनुमति दिलाउने चलखेल
काठमाडौं, २४ पौष । सन्तोषनारायण श्रेष्ठ धीतोपत्र बोर्डको अध्यक्ष बनेर आएलगत्तै आइपिओको आवेदन दिएका कम्पनीहरु दौडधूपमा छन् । उनीहरु कमिशनको खेलमा घाटाका कम्पनीलाई नाफा देखाएर आइपीओ अनुमति दिलाउन सक्रिय भइसकेका छन् । आइपीओ खोल्ने र सर्वसाधारणको रकम सोरेर दोहन गर्ने रणनीतिले सहकारी ठगी जस्तै अर्को प्रपञ्च चलिरहेको छ । यसले अर्को आर्थिक संकट निम्त्याउन सक्छ ।
यस्तै दौडमा छ अम्बे स्टील । यो कम्पनी वित्तीय रुपमा टाट पल्टन लागेको छ । यो कम्पनीको आय घट्दै गएको छ । आय घट्दै गएपछि अम्बे स्टील आइपीओमा जान लागेको हो । उसले १०० रुपैयाँ अंकित मूल्यमा २०३ रुपैयाँ थप गर्दै १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्काशनको लागि लगानी बोर्डमा आवेदन दिएको छ । उसले ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ लगानीकर्ताबाट उठाउने योजना बुनेको छ ।
भैरहवामा प्लान्ट रहेको कम्पनीको शेयर स्वामित्वमा २४ प्रतिशत हिस्सा शोभाकर न्यौपाने, १८ प्रतिशत शिवाज न्यौपाने, १२.५० प्रतिशत सज्जन अग्रवाल र ११ प्रतिशत हिस्सा शिवानी न्यौपानेको रहेको छ ।
यसैगरी, अम्बे ग्रुप र शंकर ग्रुपको लगानीको रिद्धिसिद्धि सिमेन्टले पनि प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् । रिद्धिसिद्धि पनि वित्तिय रुपमा नाजुक अवस्थामा छन् । कम्पनीले प्रतिकित्ता २१४ रुपैयाँको मूल्यमा १ करोड २१ लाख ७१ हजार कित्ता शेयर निष्काशनको योजना बनाएको छ । जसबाट ३ अर्ब जति लगानीकर्ताबाट निकाल्ने दाउ बनाएको छ ।